पाल्पा-पाल्पा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/०८३ मा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन्। उक्त अवधिमा ६ सय ४५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामध्ये ५ सय ५५ वटा फछ्र्यौट भई ९० वटा मात्र विचाराधीन रहेका छन्।
अदालतले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो। कार्यक्रममा अदालतका स्रेस्तेदार केशव पराजुलीले आर्थिक वर्षभर दर्ता भएका २१ वटा विभिन्न विषयगत शीर्षकअन्तर्गतका मुद्दा तथा तिनको फछ्र्यौट अवस्थाबारे जानकारी दिनुभयो।
उहाँका अनुसार अंशसम्बन्धी ४९ वटा मुद्दा दर्ता भएकामध्ये २१ वटा फछ्र्यौट भई २८ वटा बाँकी रहेका छन् भने मानाचामलसम्बन्धी १९ वटा मुद्दामध्ये ९ वटा फछ्र्यौट भई १० वटा विचाराधीन रहेका छन्।
फौजदारी तथा सामाजिक अपराधतर्फ जबरजस्ती करणीका २० वटा मुद्दामध्ये १५ वटा फछ्र्यौट भई ५ वटा बाँकी रहेका छन्। जबरजस्ती करणी उद्योगका ५ वटा मुद्दामध्ये ४ वटा फछ्र्यौट भएका छन्। लागूऔषधसम्बन्धी १० वटै मुद्दा तथा सवारी ज्यानसम्बन्धी १५ वटै मुद्दा पूर्ण रूपमा फछ्र्यौट भएका छन् भने चोरी तथा डाँका सम्बन्धी १४ वटा मुद्दामध्ये १२ वटा टुंगिएका छन्।
बैंकिङ तथा आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ११ वटा मुद्दामध्ये ४ वटा फछ्र्यौट भई ७ वटा विचाराधीन रहेका छन्। चेक अनादरका २ वटा मुद्दामध्ये १ वटा फछ्र्यौट भई १ वटा बाँकी रहेको छ। लेनदेनसम्बन्धी ३१ वटा मुद्दामध्ये १९ वटा फछ्र्यौट भएका छन्। हातहतियार तथा खरखजानासम्बन्धी २ वटा, उद्योग ज्यानका ५ वटा तथा कर्तव्य ज्यानका ५ वटै मुद्दा पूर्ण रूपमा फछ्र्यौट भएका छन्।
केही शीर्षकमा भने फछ्र्यौट दर न्यून देखिएको अदालतले जनाएको छ। बाल यौन दुव्र्यवहारको १ वटा तथा गाली बेइज्जतीका ६ वटा मुद्दा आर्थिक वर्षभित्र फछ्र्यौट हुन सकेका छैनन्। घरेलु हिंसासम्बन्धी ७ वटा मुद्दामध्ये ६ वटा फछ्र्यौट भई १ वटा बाँकी रहेको छ भने बहुविवाहसम्बन्धी १ वटा मुद्दा पूर्ण रूपमा टुंगिएको छ।
कार्यक्रममा जिल्ला न्यायाधीश हरिप्रसाद शर्माले अदालतले न्याय सम्पादनलाई छिटो, छरितो र सर्वसुलभ बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले मुद्दा फछ्र्यौटको दरलाई अझ प्रभावकारी बनाउँदै नागरिकलाई न्यायमा सहज पहुँच सुनिश्चित गर्न अदालत प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। हाल पाल्पा जिल्ला अदालतमा डेढ वर्षभन्दा पुराना कुनै पनि मुद्दा बाँकी नरहेको उहाँले जानकारी दिनुभयो।
























