पाल्पा । वैदेशिक रोजगारीदेखि विभिन्न व्यवसायमा संघर्ष गर्दै सुन्दर भविष्य निर्माणका लागि दिनरात मेहनत गरेका पाल्पा रैनादेवी छहरा गाउँपालिका ३ का ज्ञानप्रसाद भण्डारी अहिले गाईपालन व्यवसायमा जुटेका छन् । गाईपालन व्यवयसायबाट मासिक आम्दानी करिब १ लाखकोे सेरोफेरोमा आम्दानी गर्न सफल भएका छन् । यो आम्दानीले उनीलाई गाईपालन व्यवसायमा रमिरहन ठूला प्रोत्साहन मिल्यो ।
अहिले फार्ममा ११ वटा गाई र १ वटा भैंसी रहेका छन् । गाईपालन व्यवसायबाट दैनिक करिब ६०–७० लिटर दूध उत्पादन भइरहेको छ । आगामी दिनमा उत्पादन बढाएर दैनिक १०० लिटर दूध पु¥याउने लक्ष्यका साथ उहाँ निरन्तर मेहनत गरिरहनुभएको छ । यो मेहनत अरु किसानका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।
उहाँको जीवनयात्रा संघर्षले भरिएको छ । धेरै वर्ष वैदेशिक रोजगारीमा बिताएपछि स्वदेशमै केही गरौँ भन्ने दृढ संकल्पका साथ नेपाल फर्कनुभयो । त्यसपछि किराना तथा फेन्सी पसल सञ्चालन, गाडी व्यवसाय, जनप्रतिनिधिको जिम्मेवारी, निर्माण व्यवसायजस्ता विभिन्न क्षेत्रमा अनुभव बटुल्दै अन्तत ः करिब दुई वर्षअघिदेखि गाईपालन व्यवसाय सुरु गर्नुभएको हो ।
आफ्नो अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “हामी नेपालीका लागि सबैभन्दा आनन्द र आत्मसन्तुष्टि दिने व्यवसाय भनेकै कृषि रहेछ । म आज यो व्यवसायबाट निकै सन्तुष्ट छु ।” कृषि पेशाबाट आम्दानी गर्ने मात्र होइन, यो पेशाबाट आफु मात्र आत्मनिर्भर बन्ने होइन अरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्ने पेशा भएको भण्डारीको दावी छ ।
“कृषिप्रधान देश भनेर भाषण गर्नेहरू धेरै छन्, तर व्यवहारमा किसानको मूल्यांकन भएको छैन । विधिवत् फार्म दर्ता गरेर दैनिक १०० लिटर दूध उत्पादन गर्ने किसान र एउटा थारो भैंसी मात्र पाल्ने व्यक्तिलाई पनि एउटै दृष्टिले हेरिन्छ । वास्तविक उत्पादन, लगानी र योगदानका आधारमा राज्यले फरक नीति र प्रोत्साहन दिनुपर्ने हो । अहिलेको अवस्था किसानका लागि निकै दुःखद छ,” भण्डारीले भन्नुभयो ।
ज्ञानप्रसाद भण्डारीजस्ता मेहनति किसानहरूले देखाएको उदाहरणले स्पष्ट सन्देश दिन्छ कि उचित नीति, बजार र राज्यको साथ पाए कृषि क्षेत्रले देशको अर्थतन्त्रलाई बलियो बनाउन ठूलो योगदान दिन सक्छ । युवाहरू विदेशिने क्रम बढिरहेको वर्तमान अवस्थामा स्वदेशमै कृषि व्यवसायमार्फत सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण उहाँको फार्म बनेको छ ।
यस्ता परिश्रमी किसानलाई प्रोत्साहन गर्ने नीति, उत्पादनका आधारमा अनुदान, सहज बजार व्यवस्थापन तथा किसानमैत्री कार्यक्रम लागू गर्न सके मात्र कृषि क्षेत्रले वास्तविक रूपमा फड्को मार्ने सकिने किसानहरुको भनाई छ ।
रैनादेवी छहरा गाउँपालिका ३ का वडाध्यक्ष प्रदिप पौडेलका अनुसार ग्रामीण क्षेत्रको अर्थतन्त्र बलियो बनाउने काम कृषि तथा पशुपालनका क्षेत्रका क्षेत्रबाट भइरहेको छ । जुझारी युवाहरुको संक्रियतामा कृषि तथा पशुपालनका क्षेत्रमा प्रगति भइरहेको देखिएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा स्थानीय सरकारले मुल्यांकन गरी प्रोत्साहनका कार्यक्रम गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो ।






















