Palpa Dainik
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
×

पाल्पा – रिब्दीकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ कुल बजेट ५४ करोड ५८ लाख ९३ हजार २ सय ३२ रुपैयाँ मा ४८ करोड ५५ लाख १७ हजार ४ सय ४० रुपैयाँ खर्च गरेको हो ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष कार्कीका अनुसार कृषि तथा पशुपालन क्षेत्रमा दैनिक ८ घण्टा निरन्तर काम गर्ने कृषकहरूले मासिक कम्तीमा २५ हजार रुपैयाँसम्म आम्दानी गर्न सक्ने वातावरण बनेको बताउनुभयो । वार्षिक रूपमा कृषि तथा पशुजन्य वस्तुहरू बाहिर निर्यात गरी ४६ करोड रुपैयाँभन्दा बढी आम्दानी किसानले गर्न सफल भएको उहाँले बताउनुभयो । स्थानीय स्रोत–साधन र उपलब्ध सबै जमिनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्दै ठूला व्यवसायहरू भित्र्याउन सकेमा यो आम्दानीलाई बढाएर वार्षिक १ अर्ब रुपैयाँसम्म पु¥याउन सकिने सम्भावना रहेको अध्यक्ष कार्कीको दावी छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले आर्थिक वर्षको सूरुवातसँगै योजनाहरुको प्रक्रिया अगाडि बढाएर समयमा नै सम्पन्न गर्ने बातावरण बनाउनुपर्ने बताउनुभयो । पूर्व गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले अकबरे खुर्सानीदेखि तितोपाती र बेसारको अझै पहाडी क्षेत्रमा उत्पादनको राम्रो सम्भावना रहेको बताउनुभयो ।

रिब्दीकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषालले आर्थिक वर्ष २०८२/०८३ को समग्र वार्षिक गतिविधिहरुलाई समावेश गरी तयार गरिएको प्रगति प्रतिवेदन प्रस्तुति राख्नुभएको थियो । उहाँले कुल बजेटको ८८.९४ प्रतिशत वित्तिय प्रगति हासिल गर्न गाउँपालिका सफल भएको बताउनुभयो ।

समिक्षा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रममा वडा नं. १ देखि ८ सम्मका वडागत वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो । त्यसैगरी, विषयगत समितिअन्तर्गत आर्थिक विकास समितितर्फ कृषि प्राविधिक राजेन्द्र सिंह धामी, पूर्वाधार विकास समितितर्फ ईन्जिनियर पुरन कार्की, सामाजिक विकास समितितर्फ सहायक शिक्षा अधिकृत राजाराम भाट र सुशासन, संस्थागत विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन समितितर्फ प्रशासकीय अधिकृत रूकलाल भट्टराईले आ–आफ्नो शाखाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा उत्कृष्ट वडा घोषणा तथा पुरस्कार वितरण गरिएको छ । सबैभन्दा बढी राजस्व संकलन गर्र्ने, उच्च वित्तीय प्रगति हासिल गर्ने र समयमै योजना सम्पन्न गरी सबैभन्दा अगाडि रहेको वडा नं. ४ लाई ‘उत्कृष्ट वडा’का रूपमा सम्मान गरिएको हो ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चिरञ्जीवी पोखरेल, वडा नम्बर २ का अध्यक्ष ओम प्रसाद पोखरेल, वडा नम्बर ३ का अध्यक्ष नारायण बहादुर के.सी., वडा नम्बर ४ का अध्यक्ष सोम बहादुर कार्की र वडा नम्बर ७ का अध्यक्ष दान बहादुर कुँवरले समिक्षा कार्यक्रम उठाएका सवालहरुलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत रूकलाल भट्टराईले गर्नुभएको थियो ।

सम्बन्धित समाचार