पाल्पा—आगामी स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता लागि अन्तर दल जिल्लास्तरीय राजनीतिक संवाद कार्यक्रम पाल्पा सदरमुकाम तानसेन सम्पन्न भएको छ ।
स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिहरुको सहभागितालाई सुनिश्चित गर्ने विषयमा दलहरुकोे भूमिका प्रभावकारी भए आगामी निर्वाचनमा महिला जनप्रतिनिधिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने सम्वन्धमा बहस सुरु भएको हो ।
दलित महिला केन्द्र नेपालको आयोजना, तानसेन नगरपालिकाको समन्वय र अष्ट्रेलियन एड, द एसिया फाउण्डेनको आर्थिक तथा प्राविधिक सहयोगमा पाल्पाका ५ राजनीतिक दल र तानसेन नगरपालिकाका महिला जनप्रतिनिधिहरु बीच संवाद भएको हो । कार्यक्रममा आगामी निर्वाचनमा कार्यकारी पदमा पालिका प्रमुख, वडा अध्यक्ष पदमा न्यूनतम ३३ प्रतिशत र सम्भव भएसम्म ५० प्रतिशत महिलाको उम्मेदवारी र प्रतिनिधित्व हुनुपर्ने पाल्पाका राजनीतिक दलका प्रमुखले प्रतिवद्धता गरेका छन् ।
रास्पा पाल्पाका सभापति विष्णु भण्डारी, नेपाली काँग्रेस पाल्पा अध्यक्ष हिमालदत्त श्रेष्ठ, नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज यादव बहादुर रायमाझी र जिल्ला संयोजक नेत्र प्रसाद पाण्डे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, राप्रपाका अध्यक्ष डुल बहादुर कुँवरले आगामी प्रदेशिक तथा केन्द्रीय तहको निर्वाचनमा पनि महिलाको उम्मेदवारी सुनिश्चित गर्ने र त्यो प्रतिनिधित्वमा स्पान्त्रित गर्ने आवश्यक सबै प्रकारका सहयोग पुरयाउने लिखित प्रतिवद्ध गरेका हुन ।
कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ को प्रतिबिम्ब, राजनीतिक दलहरूको विधानमा लैङ्गिक समानता र समावेशीकरण, दलित, महिला र अपाङ्गताका मुद्दाहरूको पहिचान, र दलभित्र महिलाको अर्थपूर्ण सहभागिता तथा नेतृत्वदायी भूमिका सम्वन्धी प्रा. डा. कृष्ण हाछेथुले सहजीकरण गर्नुभएको थियो । निर्वाचनमा महिलालाई नेतृत्वदायी पदमा अवसर प्रदान गर्ने, महिलाहरुको क्षमता विकास गर्नका लागि मेन्टरिङ प्रणालीलाई संस्थागत गर्ने विषयमा दलहरुले प्रतिवद्धता समेत गरेका हुन् ।
कार्यक्रममा महिलाहरुको नेतृत्व विकास गरी आगामी निर्वाचनका लागि उम्मेदवारी बनाउन दलहरुले नेतृत्व विकास, दलको प्रतिवद्धता, सोधपत्र, रणनीति, प्रथाजनित परम्परा सम्वन्धी ५ भागमा विभाजन गरी छलफल गरिएको थियो । सो कार्यक्रममा संविधानसभा सदस्य तथा दलित महिला केन्द्रकी उपाध्यक्ष दुलारी हरिजनले स्थानीय तहमा महिला सहभागिता बढ्दो भएपनि अर्थपूर्ण सहभागिताका लागि दलहरुको प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।
द एसिया फाउण्डेनका लुम्विनी प्रदेशका वरिष्ठ संयोजक चुरामणि पोखरेलले पाल्पाका दश स्थानीय तह मध्य एउटा गाउँपालिका अध्यक्ष महिला हुनुहुन्छ भने ८१ बडामा एक जनामात्र महिलाले वडाध्यक्षको भूमिका निभ्याएको देखिएको छ, यसले पाल्पा जिल्ला समावेशीको सवालमा कस्तो छ, भन्ने कुरा छर्लङ्ग देखिएको बताउनुभयो । समानुपातिक, समावेशीका सवाल, संविधानमा व्यवस्था गरेपनि कार्यान्वयनका लागि दलहरुको सक्रियता अझै बढ्नुपर्ने वरिष्ठ संयोजक चुरामणि पोखरेलले बताउनुभयो ।
दलित महिला केन्द्रका कार्यकारी निर्देशक तेजेन्द्र लामाले स्थानीय तहका महिला जनप्रतिनिधिहरुको मागका आधारमा कार्यक्रम सञ्चालन गरिरहेको र महिला जनप्रतिनिधिहरुको समस्या तथा चुनौतीहरुलाई हल गर्नका लागि विज्ञहरु मार्फत मेन्टरिङ्ग गरिएको बताउनुभयो ।
कार्यक्रम दलित महिला केन्द्रका प्रतिनिधि कृष्ण दर्नालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पाल्पाका राजनीतिक दलमा अध्यक्ष, सचिव तथा महिला संगठनका अध्यक्ष र तानसेन नगरपालिकाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
























