Palpa Dainik
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
×

पाल्पा-रिब्दीकोट गाउँपालिकाद्वारा सञ्चालित “सिक्दै कमाउँदै अभियान” अन्तर्गत विद्यालयहरूमा सञ्चालित व्यवसायिक कार्यक्रमहरूले सकारात्मक परिणाम दिन थालेका छन्।

अभियानअन्तर्गत अनुदान प्राप्त रिब्दीकोट गाउँपालिका वडा नं. २ देउरालीस्थित आदर्श माध्यमिक विद्यालयले सुरु गरेको ड्रागन फलफूल खेतीबाट पहिलो चरणमै उत्साहजनक आम्दानी भएको छ।

विद्यालयले उत्पादन गरेको ताजा ड्रागन फल विद्यालयका सहायक प्रधानाध्यापक देवराज घिमिरेले गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाललाई नमुनाको रूपमा हस्तान्तरण गर्नुभएको हो।

सहायक प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयले करिब २०० वटा ड्रागन फ्रूटका बोटहरू रोपेर खेती सुरु गरेको थियो। जसबाट यस वर्ष मात्र हालसम्म करिब २ क्विन्टल (२०० किलोग्राम) ड्रागन फल उत्पादन भइसकेको छ। उक्त फल प्रति किलोग्राम रु. ३५० को दरले बिक्री वितरण गर्दा विद्यालयले हालसम्म करिब रु. ७० हजार बराबरको आम्दानी गर्न सफल भएको छ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आदर्श माविले प्रस्तुत गरेको यो कार्य अत्यन्तै उदाहरणीय र अनुकरणीय रहेको बताउनुभयो। व्यवहारिक शिक्षा र आत्मनिर्भरतातर्फ जोड दिने पालिकाको नीतिलाई विद्यालयले सार्थक बनाएको भन्दै उहाँले पालिकाभित्रका अनुदान प्राप्त अन्य विद्यालयहरूलाई पनि यसै गरी उत्पादनमूलक र नमुना योग्य काममा लाग्न आह्वान गर्नुभएको छ।

सम्बन्धित समाचार