Palpa Dainik
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
×

पाल्पा -भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा भएको ठूलो जनधनको क्षतिप्रति रैनादेवी छहरा गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।

यस बाढीका कारण रैनादेवी छहरा गाउँपालिकामा स्थायी रूपमा बसोबास गर्ने केही नागरिकहरूसमेत हालसम्म सम्पर्कमा नआएकोमा गाउँपालिका परिवारले गम्भीर चिन्ता व्यक्त गरेको छ।

प्रभावित नागरिक तथा शोकसन्तप्त परिवारप्रति मानवीय सहयोग र ऐक्यबद्धता प्रकट गर्न बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको पाल्पा दैनिकलाई बताए। गाउँपालिकाले प्रभावित एवम् बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी तथा अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका लागि अपिल गरेको छ।

सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय, कटान तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकहरूलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन र आधिकारिक निर्देशनको अनिवार्य पालना गर्न गाउँ कार्यपालिकाले आग्रह गरेको छ।

बाढीको यस कठिन घडीमा खोजी तथा उद्धारमा प्रत्यक्ष रूपमा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, रेडक्रस, नागरिक समाज र स्वयंसेवकहरूप्रति गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई र प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले हार्दिक आभार व्यक्त गर्नुभएको छ।

गाउँपालिकाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।

सम्बन्धित समाचार