पाल्पा -रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका क्षेत्रमा पुर्याएको अकल्पनीय जनधनको क्षतिप्रति पाल्पाको बगनासकाली गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।
विपद्बाट प्रभावित नागरिकहरूको खोज, राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन आजको निर्णयानुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. २ लाख ५० हजार रकम उपलब्ध गराइने भएको छ।
यसका साथै सम्पूर्ण जनप्रतिनिधिहरूको १ महिनाको मासिक सेवा सुविधाको १० प्रतिशत रकम र कर्मचारीहरूको ५ दिन बराबरको पारिश्रमिक कट्टा गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने निर्णय गरिएको छ।
यसैबिच बाढीका कारण घाइते भएकाहरूको उपचारमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले यही मिति भाद्र १५ गते सोमबार बिहान ८ बजे गाउँपालिकाको कार्यालय, चिर्तुङ्धारा, पाल्पामा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकद्वारा जारी वक्तव्यमा उक्त रक्तदान कार्यक्रममा सक्रिय सहभागिताका लागि आह्वान गर्दै यस गम्भीर सङ्कटको सामना गर्न देश तथा विदेशमा रहेका समस्त नेपालीहरूलाई आवश्यक सहयोग र ऐक्यबद्धताका लागि हार्दिक अनुरोध गरिएको छ।
गाउँपालिकाले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनस्थापनाको कामना गरेको छ।
























