पाल्पा-रम्भा गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख पच्चास हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
रसुबा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी र अभूतपूर्व ठूलो बाढीका कारण पुगेको क्षतिप्रति पाल्पाको रम्भा गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।
विषम परिस्थितिमा बाढीपीडित तथा प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि ऐक्यबद्धता जनाउँदै रम्भा गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २,५०,००० (दुई लाख पच्चास हजार रुपैयाँ) सहयोग उपलब्ध गराउने निर्णय पाल्पा दैनिकलाई प्राप्त भएको छ । भाद्र १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा ठूलो मानवीय क्षति गर्नुका साथै भौतिक पूर्वाधारहरू नष्ट बनाएको घटनाप्रति गाउँपालिका परिवारले शोक प्रकट गरेको हो।
गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी र निमित्त प्रमुख प्रशासकीय अधिकृत पोष्टराज न्यौपानेद्वारा जारी वक्तव्यमा भीषण प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, बाढीमा परी घाइते तथा प्रभावित भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
विपद्को यस कष्टकर समयमा संकटमा परेका नागरिकहरूको तत्काल उद्धार, राहत, प्राथमिक उपचार र पुनस्थापनाका लागि भौतिक, आर्थिक तथा स्वयंसेवी रूपमा आवश्यक सम्पूर्ण सहयोग र समन्वय गर्ने पूर्ण प्रतिबद्धता गाउँपालिकाले जनाएको छ। साथै, विपद्को सामना गर्ने धैर्यता र शक्ति सबैमा मिलोस् भन्ने कामना गर्दै उद्धार कार्यमा खटिएका सुरक्षा निकाय, स्वयंसेवक तथा सहयोगी संघसंस्थाहरूप्रति गाउँपालिकाले उच्च सम्मान र आभार व्यक्त गरेको छ।
























