Palpa Dainik
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
×

‘दृष्टि पात्रो’ अनलाइनको शुभारम्भ

तानसेन- पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः कृष्ण पोखरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ। तानसेनमा सम्पन्न संस्थाको १६औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। निर्वाचन अधिकृत बाबुराम कार्कीका अनुसार उपाध्यक्षमा कृष्ण गहतराज, सचिवमा विनोद भारती र कोषाध्यक्षमा बसन्ती ढकाल निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरूमा विश्वराज भट्टराई, किशोर भट्टराई, अम्बिका बस्याल र किरण कौशल चयन हुनुभएको छ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद खेमबहादुर सारूले पाल्पाको पर्यटन, शिक्षा, स्वास्थ्य र स्थानीय निकायलाई जवाफदेही बनाउन संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। पत्रकारको क्षमता विकास तथा आर्थिक-सामाजिक रूपान्तरणमा संस्थाले पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँले आगामी दिनमा अझै प्रभावकारी र परिणाममुखी योजना बनाएर अघि बढ्न सुझाव दिनुभयो।

कार्यक्रमका अवसरमा संस्थाका सल्लाहकार एवं वरिष्ठ पत्रकार मेघराज शर्मा र पूर्व जिल्ला विकास समितिका सभापति झपेन्द्र जिसीलाई दोसल्ला, सम्मानपत्र र नगदसहित विशेष सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्व शर्मा तथा जिसी, तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा थापा, गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष यादव शर्मा र नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले संस्थाको पारदर्शिता, सुशासन, मिडिया कर्मीको क्षमता विकास र स्थानीय तह सबलीकरणमा पुर्‍याएको योगदान सराहनीय रहेको बताउनुभयो। सोही अवसरमा यादव शर्माले पाल्पामा दर्ता भएका ५०० संस्थामध्ये ३०० मात्र नवीकरण भएको जानकारी दिँदै तीनै तहका सरकारलाई गैरसरकारी संस्थासँग साझेदारी गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो।

संस्थाका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष बसन्ती ढकालले ३७ लाख रुपैयाँभन्दा बढीको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम प्रमुख किरण कौशलले वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाले नीति पात्रो अनलाइन पोर्टल सञ्चालनका साथै पत्रकारिता र सुशासनका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो। आगामी दिनमा निर्वाचन खर्चको खोजी, सामाजिक परीक्षण, भिडियो डकुमेन्ट्री र पुस्तक प्रकाशनमार्फत विकास निर्माणका गतिविधि बाहिर ल्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो। उपाध्यक्ष कृष्ण गहतराजको स्वागत तथा सचिव विनोद नेपालको सञ्चालनमा सम्पन्न सोही समारोहका बिच ‘दृष्टि पात्रो’ अनलाइनको समेत औपचारिक शुभारम्भ गरिएको छ।

सम्बन्धित समाचार