Palpa Dainik
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
×

पाल्पा-नेपाल प्रेस युनियन पाल्पाको अध्यक्षमा दुर्गेश मल्ल निर्वाचित हुनुभएको छ । प्रेस युनियनको आइतबार तानसेन सम्पन्न १०औं अधिवेशनले मल्ललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले बताउनुभयो ।

जसको उपाध्यक्षमा विष्णु खनाल र मिना कुमाल, सचिवमा दुर्गा अर्याल, सहसचिव सन्तोष गहतराज, कोषाध्यक्षमा इमान सिंह राना निर्वाचित भएका छन् ।सदस्यहरूमा सुमन कार्की, किसान पोखरेल र प्रेरणा नेपाल निर्वाचित भएका आचार्यले बताउनुभयो ।

अधिवेशन उद्घाटन शत्रमा युनियन पाल्पाका अध्यक्ष मन गहिरेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।प्रमुख अतिथि नेपाली काँग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले  राजनीतिक दलले आफ्नो मर्म भन्दा बाहिर गएर विचौलियाको काम गर्दा यो परिस्थिति आएको बताउनुभयो । भोलेन्टिय काम गरिरहेका पत्रकारको हितमा काम गर्न नसकिएको बताउनुभयो । अबका दिनमा यस्ता कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । पत्रकारले राम्रो कामको प्रचार र गलत कामको खबरदारी गर्नुपर्ने बताउनुभयो । विचारमा ईमानदार भएको व्यक्तिले संस्थाको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपसभापति माधव अर्यालले अहिलेको सरकारले पत्रकारलाई पीडा माथि पीडा थप्ने काम गरेको बताउनुभयो । अप्ठ्यारो परिस्थितिमा मुलुकमा पत्रकार पुर्‍याएको योगदान भल्न नहुने उहाँले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति विष्णुप्रसाद भण्डारीले स्वतन्त्र पत्रकारिता गर्न अनुरोध गर्नुभयो । पत्रकारिताको मर्म बुझेका रास्वपाका सभापति रवि लामिछाने हुनुहुन्छ । उहाँले पत्रकारको हितमा काम गर्ने दाबी गर्नुभयो ।

नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले हरेक आन्दोलनमा पत्रकारले योगदान दिएको बताउनुभयो । आन्दोलन पश्चात् बनेका सरकारले पत्रकारको हितमा काम नगरेको उहाँले बताउनुभयो । पत्रकारको अधिकार खोस्ने सरकारले लोकतन्त्रलाई कमजोर बनाउन खोजिरहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवरले लोककल्याणकारी विज्ञापन बापत पाउने रकम कटौती गर्ने सरकारको निर्णय गलत भएको बताउनुभयो । राजनीतिक आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न अनुरोध गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले समाजलाई सहि सूचना दिने साझा काम पत्रकारको भएको बताउनुभयो । पत्रकारको प्रश्नले समाज रुपान्तरणमा सहयोग पुग्ने बताउनुभयो । समाचार लेखेको आधारमा सरकारले धरपकड गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । प्रेस युनियन पाल्पाका संस्थापक अध्यक्ष झपेन्द्र गहिरेले मिडिया बलियो भयो भने नै  लोकतन्त्र बलियो हुने दाबी गर्नुभयो । मिडियालाई प्रतिसोध साध्न खोजे अहिलेको सरकार पनि नटिक्ने चेतावनी दिनुभयो ।

नेपाल पत्रकार महासंघ पत्रकार नै विस्थापित हुने अवस्था आएको बताउनुभयो । मिडियाले पाउने सेवा सुविधा सरकारले कटौती गरेर पत्रकारलाई विस्थापित गर्न खोजिरहेको बताउनुभयो । लोककल्याणकारी विज्ञापन बापत पाउने रकम कटौती गरेको भन्दै प्रेस विरोधी यो निर्णय सच्याउन माग गर्नुभयो ।

नेपाली काँग्रेस गुल्मीका सचिव तथा प्रेस युनियनमा नेता जगदीश भट्टराईले अहिलेको सरकारले मिडियाप्रति गरेको व्यवहारमा निन्दनीय रहेको बताउनुभयो । मुलुकमा शान्ति स्थापना र संविधान निर्माणमा नेपाली मिडियाको भूमिका अहम रहेको उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रेमनारायण आचार्यले मुलुकमा लोकतन्त्र स्थापना गर्नका लागि पत्रकारका संघ संगठनको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । यतिबेला  पत्रकारिता पेशानै जोखिममा रहेको उहाँले बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका सचिव लोकनाथ अधिकारीले पेशागत निष्पक्षतामा गम्भीर हुन अनुरोध गर्नुभयो । प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले पत्रकारको समस्यालाई हितमा राखेर पत्रकारका संघ संगठनले आवाज उठाउनुपर्ने बताउनुभयो । प्रेस सेन्टर नेपालका अध्यक्ष कृष्ण दर्नालले पत्रकारले पत्रकारिता मात्रै गर्दैन नागरिक समाजको भूमिका पनि निर्वाह गरेको बताउनुभयो ।

पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष समिरमान सिंहले व्यावसयीहरू पत्रकारसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताउनुभयो । पाल्पा ब्यापार संघका अध्यक्ष विष्णु कार्कीले ईमानदार भएर काम गर्न पत्रकारलाई सुझाव दिनुभयो । पत्रकारमाथि जनताले प्रश्न उठाउन थालेका छन् । यस्तो अवस्थालाई रोक्नका लागि पाल्पाली पत्रकारले भूमिका खेल्न अनुरोध गर्नुभयो ।

लुम्बिनी मेडिकल कलेज प्रभासका कम्पनी सचिव कृष्ण पराजुली पत्रकार सकारात्मक सोचले अगाडि बढ्नुपर्ने परिस्थिति रहेको बताउनुभयो । अक्षय कोष दाताको तर्फबाट बुद्धि प्रसाद शर्माले सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । पूर्णमान स्मृति पत्रकारिता पुरस्कारबाट माधव अर्याललाई प्रदान गरिएको छ । स्वर्गीय तिलकराम नेपाल स्मृति पत्रकारिता पुरस्कार सुनिल कार्की र दानबहादुर हिस्कीलाई प्रदान गरिएको छ ।

विकास पत्रकारिता पुरस्कार सुमन कार्की र सन्तोष गहतराजलाई प्रदान गरिएको छ । स्वर्गीय चोलकुमारी स्मृति पत्रकारिता पुरस्कार भोजराज तिमिल्सिना र मिना कुमालले पाउनुभएको छ ।

पाल्पाली ढाका पत्रकारिता पुरस्कारबाट लेखक दुर्गा अर्याललाई प्रदान गरिएको छ । स्वर्गीय राजेन्द्र पन्थी स्मृति पत्रकारिता पुरस्कारबाट सीता पाण्डेलाई पुरस्कृत गरिएको छ ।

स्वर्गीय लक्षमण घिमिरे स्मृति पत्रकारिता पुरस्कार अनु खनाललाई प्रदान गरिएको छ । क्रियाशिल पत्रकारिता पुरस्कार प्रेरणा नेपाल र शोभा थापालाई  प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक जगदीश भट्टराईले जानकारी दिनुभयो । युनियन पाल्पाका उपाध्यक्ष रामचन्द्र रायमाझीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव विष्णुप्रसाद घिमिरेले गर्नुभएको थियो

सम्बन्धित समाचार