Palpa Dainik
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
×

पाल्पा-पाल्पाको रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जलेश्वर मन्दिर धाम क्षेत्रमा १०८ गौमुखेधारा र १०८ शिवलिङ्ग जडान कार्य अन्तिम चरणमा पुगेको छ । गौमुखेधारा र शिवलिङ्ग राख्नका लागि संरचना बनाउने काम करिब सम्पन्न भइसकेको छ ।गौमुखेधारा र शिवलिङ्ग काठमाडौँबाट खरिद गरी ल्याई सकेको समितिले जनाएको छ ।

जलेश्वरस्थित महादेवको मुर्ति रहेका परिसरमा १०८ शिवलिङ्ग जडान गरी आकर्षक गन्तव्य बनाउने गरी काम भइरहेको छ । बाला पुरी स्वामीले चिम्टा गाडेर पानी निकालेको भनिने प्रसिद्ध खानेपानीको मुहान नजिकै १०८ गौमुखेधारा जडान गर्ने काम अन्तिम चरणमा पुगेको जलेश्वर धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बेनिमाधव आचार्यले बताउनुभयो ।

जलेश्वरलाई गाउँपालिकाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना अनुसार पूर्वाधार निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाइएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । जलेश्वर धाम मन्दिर व्यवस्थापन समितिले गौमुखेधारा र शिवलिङ्ग जडान कार्य सम्पन्न भएसँगै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि गर्ने लक्ष्य रहेको छ ।

जलेश्वर मन्दिर क्षेत्रमा भौतिक संरचनाको विकाससँगै मन्दिर क्षेत्रमा पर्यटकको चहलपहल ल्याउने गरी समिति लागि परेको छ । महायज्ञ पछि समितिले गौशाला स्थापना गरी सञ्चालनमा ल्याएको छ । त्यसै गरी मन्दिरमा नियमित पुजा गर्न पुजारी, पुरोहितको व्यवस्था गरेको छ भने २ जना मालीको व्यवस्था गरेसँगै मन्दिर परिसर आकर्षित देखिएको छ ।

महायज्ञ सञ्चालन पछि झण्डै १० हजार भक्तजनहरु मन्दिरमा दर्शन गरेका छ । जलेश्वर क्षेत्र सेनकाली राजाहरुको राजधानी हो । त्यसैले यस क्षेत्र ऐतिहासिक महत्व बोकेको धार्मिक तथा पर्यटकीय क्षेत्र पनि हो । योगी सन्तका लागि पनि उपयुक्त तपोभूमि मानिन्छ । बाला पुरी स्वामीले चिम्टा गाडेर पानी निकालेको दृश्य मानिसहरुका लागि अनौठो लाग्छ ।

त्यसैले पनि मानिसहरु घुमफिर गर्न मन्दिर क्षेत्रमा आउने गरेको जलेश्वर धाम मन्दिर व्यस्थापन समितिका उपाध्यक्ष सम्वर विश्वकर्माले पाल्पा दैनिकलाई बताउनुभयो । जलेश्वर मन्दिरमा विकुल फुकेपछि भैरवमन्दिर मात्र मन्दिर पुजा गर्ने र रोट काट्न सुरु हुने प्रचलन छ ।

महायज्ञपछि समितिले माली २ जना, १ जना पुजारी र १ जना पुरोहितको व्यवस्था गरेको छ । मालीलाई मासिक २५ हजार, पुजारीलाई १० हजार र पुरोहितलाई १५ हजार रुपमा पारिश्रमिकका रुपमा समितिले उपलब्ध गराएको छ । यसले मन्दिर संरक्षण तथा मन्दिरमा दैनिक रुपमा पुजाआज गर्न सहयोग पुगेको समितिका आर्थिक संयोजक प्रमुख कुँवरले बताउनुभयो ।

सम्बन्धित समाचार