Palpa Dainik
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
×

रामपुर-पाल्पाको रामपुरस्थित राम्चे सामुदायिक वन उपभोक्ता समूहको ५०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न भेलामा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले राम्चे वन केवल प्राकृतिक सम्पदा मात्र नभई भगवान रामसँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्र भएकाले यसको संरक्षण र विकासमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।

जलवायु परिवर्तनका कारण बाढीपहिरोजस्ता प्राकृतिक विपद् बढ्दै गएको औंल्याउँदै उहाँले वातावरणीय सन्तुलन कायम राख्न वन संरक्षण अपरिहार्य रहेको बताउनुभयो। साथै, प्रदेश सरकारका तर्फबाट यस वन क्षेत्रको विकासका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारीसमेत उहाँले दिनुभयो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वनसम्बन्धी कानुनी व्यवस्था तथा समसामयिक विषयमा धारणा राख्नुभएको थियो। समूहका उपाध्यक्ष खड्गप्रसाद श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष विष्णुप्रसाद बस्यालले वार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना र कोषाध्यक्ष ऋतुमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सामुदायिक वन उपभोक्ता महासंघ रामपुरका अध्यक्ष विन्दु श्रेष्ठ, उपभोक्ताहरू सरस्वती डोटेल, भविनारायण मरासिनी र मित्रलाल गैह्रेलगायतले वन व्यवस्थापनका विषयमा आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो। राम्चे सामुदायिक वनको सभाहलमा आयोजित उक्त साधारणसभाको सञ्चालन उपसचिव जितबहादुर थापाले गर्नुभएको थियो।

भेलामा वन संरक्षण, दिगो व्यवस्थापन, उपभोक्ताको सहभागिता अभिवृद्धि तथा सामुदायिक वनलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो।

सम्बन्धित समाचार