पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका वडा नं. ३ बल्घामा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सचेत बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय युवा तथा अभिभावकहरूमा रोजगारीका क्रममा अपनाउनुपर्ने कानुनी र प्राविधिक पक्षबारे महत्वपूर्ण जानकारी प्रदान गरेको छ।
कार्यक्रममा मुख्य प्रशिक्षक एवं रोजगार संयोजक कालीबहादुर रानाले वैदेशिक रोजगारीमा जानुअघि आवश्यक कागजातहरू पूर्ण रूपमा तयार गर्न र आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो। उहाँले कुनै पनि किसिमको प्रलोभनमा नफस्न सचेत गराउँदै विदेश जानुअघि सम्झौता पत्र स्पष्टसँग बुझ्न र प्रमाणहरू सुरक्षित राख्न सुझाव दिनुभयो।
पछिल्लो समय वैदेशिक रोजगार सम्बन्धी श्रम स्वीकृतिका कार्यहरू स्थानीय तहको रोजगार शाखामार्फत नै अघि बढाउन सकिने व्यवस्था भएकाले बिचौलियाको भर नपरी सरकारी संयन्त्रको उपयोग गर्न उहाँले जोड दिनुभयो। साथै, वैदेशिक रोजगारीका क्रममा हुनसक्ने सम्भावित दुर्घटना वा अन्य समस्यामा सरकारले उपलब्ध गराउने सेवा र क्षतिपूर्तिबारे पनि सहभागीहरूलाई विस्तृत जानकारी दिइएको थियो।
सोही अवसरमा मनोसामाजिक परामर्शदाता ईश्वर ढुङ्गानाले मानसिक स्वास्थ्यका विविध पक्षमा प्रशिक्षण दिनुभएको थियो। उहाँले बेरोजगारी र सामाजिक दबाबका कारण उत्पन्न हुने मानसिक तनावलाई लुकाउनुको सट्टा समयमै परामर्श लिएर समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।
करिब ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीका नाममा हुने ठगी र जोखिम न्यूनीकरणका लागि यस्ता अभियानहरू गाउँगाउँमा पुग्नुपर्ने प्रतिक्रिया दिएका छन्। यस कार्यक्रमले वैदेशिक रोजगारीमा जानेहरूलाई ठगीबाट बच्न र मानसिक रूपमा सबल बन्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
























