Palpa Dainik
सोमबार, जेठ ११, २०८३  |  May 25, 2026
×

आज ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। किन र कसरी? किनकि नारीलाई सुख, खुसी, शान्ति, र पुरुषसरह इज्जत तथा समानता प्रदान गर्ने उद्देश्य राखिएको छ। सन् १९०८ मा अमेरिकाको न्यूयोर्क शहरमा १५ हजार महिला श्रमिकहरूले काम गर्ने समय घटाउनुपर्ने र ज्यालामा वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेपछि हरेक वर्ष मार्च ८ मा यो दिवस मनाइँदै आएको हो।

नारी समानताको कुरा हरेक वर्ष उठाइए पनि यो अझै भाषण, नारा, र किताबका ठेलीमा मात्र सीमित रहेको कुरा प्रत्येक नारीले महसुस गरिरहेका छन्। व्यवहारमा लागू नगरेसम्म परिवर्तन सम्भव छैन। भनाइ र गराइमा फरक रहँदा समाजमा समानता स्थापित हुन सक्दैन। प्रकृतिले नारी र पुरुष मात्रै सृजना गरेको छ, तर समाजले नै विभेदको रेखा कोरिदिएको छ। समानताको नाममा विभिन्न सुविधा र कोटा व्यवस्था गरिएको भए पनि ती पूर्ण रूपमा कार्यान्वयनमा आएका छैनन्। आज पनि नारी आफ्नै घरभित्र, आफ्नै बाबुआमाबाट समेत विभेदको सिकार बनिरहेकी छन्।

घरभित्रै पनि छोरालाई अबेलासम्म सुत्न दिन्छन्, तर छोरीलाई चाँडै उठेर घरधन्दा सक्नुपर्ने नियम लागू हुन्छ। के यही हो नारी समानता? केवल नारा लगाएर, मञ्चमा गएर भाषण गरेर मात्र समानता प्राप्त हुँदैन। जसले समानताको कुरा गर्छ, उसैले आफ्नै घरमा श्रीमती र छोरीलाई कस्तो व्यवहार गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।

नारी प्रकृतिको अनुपम उपहार हुन्, लक्ष्मीकी बासस्थान हुन्, सृष्टिकर्ता हुन्। तैपनि उनीहरू घरेलु हिंसा, शोषण, दमन, र अत्याचारको शिकार भइरहेका छन्। समाजले नारीलाई सम्मान र समान अवसर नदिएसम्म परिवर्तन सम्भव छैन। नारीको समस्या बुझेर समाधानका उपाय खोज्नु नै मुख्य कुरा हो।

नारी जन्मेपछि नै विभेद सुरु हुन्छ। बाबुआमा छोरी जन्मिँदा चुपचाप हुन्छन्, तर छोरा जन्मिँदा उत्सव मनाउँछन्। जीवनभर छोरी, श्रीमती, आमा, बुहारी, सासुजस्ता विभिन्न भूमिकामा जिम्मेवारी बहन गर्दै अघि बढ्ने नारीलाई समाजले सधैं अनुशासित, सभ्य, शालीन बन्नुपर्ने सन्देश मात्र दिन्छ। तर, पुरुष भने जे गरे पनि स्वीकार्य हुने परम्परा कायम छ।

छोरा जे गरे पनि हुन्छ, तर छोरीलाई हरेक कुरामा बन्धन लगाइन्छ। यही सोच परिवर्तन नगरेसम्म नारी समानता सम्भव छैन। यदि नारीलाई समान दर्जा दिन चाहन्छौँ भने, छोराले पनि घरका काम गर्नुपर्ने संस्कार बसाल्नुपर्छ। परिवर्तन राष्ट्रबाट सुरु हुँदैन, परिवारबाट सुरु हुन्छ। सोचमा परिवर्तन नआएसम्म समानता केवल सन्देश र नारामै सीमित हुनेछ।

नारीले घरबाट निस्केपछि बेलुका सुरक्षित रूपमा फर्कन पाउने वातावरण बन्नुपर्छ। उनीहरूलाई गिद्दे नजरले होइन, सम्मानजनक दृष्टिकोणले हेर्नुपर्छ। नारीलाई हेर्ने परम्परागत सोच १५० वर्षदेखि उस्तै छ, जसले समाजलाई पछाडि धकेलिरहेको छ। घरेलु हिंसा, बोक्सी आरोप, दाइजो प्रथा, जबरजस्तीकरणी, र यौन शोषणजस्ता अन्यायपूर्ण परम्पराहरूले आज पनि नारीलाई पिँधमा धकेलिरहेका छन्।

एउटी नारी २४ घण्टामा १८ घण्टा काम गर्छिन्, तर उनको श्रमको मूल्यांकन हुँदैन। तर, पुरुषले दिनको ६ घण्टा मात्र काम गरेर कमाएको पैसालाई आफ्नै उपलब्धि मान्छ। समानता प्राप्त गर्नका लागि हरेक व्यक्तिको सोचमा परिवर्तन आवश्यक छ। जबसम्म नारीप्रति सकारात्मक दृष्टिकोण विकसित हुँदैन, तबसम्म समाजमा समानता स्थापित हुन सक्दैन।

नारी पनि मान्छे हुन्, उनीहरूसँग पनि भावना छन्, पीडा छन्। उनीहरूको सम्मान गरौं, उनीहरूलाई स्वतन्त्र रूपमा बाँच्न दिउँ। सभ्य परिवार, सभ्य समाज, र सभ्य राष्ट्र निर्माणका लागि नारीलाई सम्मानजनक स्थान प्रदान गरौं।

सम्बन्धित समाचार