Palpa Dainik
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026
×

पाल्पा-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी नायव उपरीक्षक हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. २ ग्वादी बस्ने २७ वर्षीय रिजन भन्ने राजेश विश्वकर्मा रहेका छन्।

घटनाको विवरण अनुसार विश्वकर्माले वि.सं. २०८२ साल मंसिर महिनामा फेसबुकमार्फत एक महिलासँग सम्पर्क बढाएका थिए। कुराकानीका क्रममा ती महिलाले आफ्नो श्रीमानलाई वैदेशिक रोजगारीमा पठाउन काठमाडौँमा रकम फसेको जानकारी गराएपछि विश्वकर्माले आफू सीआईबीको डिएसपी भएको र पाल्पामा सिभिलमा खटिएको झुटो विवरण दिएका थिए। उनले काठमाडौँमा आफ्ना साथीहरू रहेको र फसेको रकम निकालिदिने प्रलोभन देखाएर पीडितको विश्वास जितेका थिए।

आफूलाई ठूलो ओहोदाको प्रहरी अधिकारीका रूपमा प्रस्तुत गरेका विश्वकर्माले आफ्नो छोरालाई इन्जिनियरिङ पढ्न बेलायत पठाउन लागेको र तत्काल १ लाख ७० हजार रुपैयाँ नपुग भएको बहाना बनाएका थिए। आफ्नो तलब आएपछि फिर्ता गर्ने आश्वासन दिएपछि पीडित महिलाले पाल्पाको तिनाउ गाउँपालिकास्थित सिद्धबाबा मन्दिर नजिकै भेटेर उनलाई नगद १ लाख ७० हजार रुपैयाँ बुझाएकी थिइन्। रकम लिएलगत्तै विश्वकर्माले सामाजिक सञ्जाल र मोबाइल नम्बर ब्लक गरेर सम्पर्कविहीन भएका थिए।

आफू ठगिएको महसुस गरेपछि ती महिलाले गत वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले उनी डिएसपी नभएको पुष्टि गरेपछि खोजतलास तीव्र पारेको थियो। अन्ततः वैशाख १० गते दिउँसो ४ बजेको समयमा पाल्पाको तानसेन नगरपालिका वडा नं. १४ अर्गेलीबाट उनलाई फोटोको आधारमा पहिचान गरी पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले अभियुक्तलाई जिल्ला अदालत पाल्पाबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताउनुभयो ।

फोटो एआईद्धारा निर्मित हो ।

सम्बन्धित समाचार