Palpa Dainik
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026
×

तानसेन-विश्व बैङ्कसँग ऋण लिएर बनाइएको तानसेन नगरपालिकाको ऐतिहासिक नारायणस्थान फूलबारीका संरचनाहरू विगत सात वर्षदेखि अलपत्र अवस्थामा छन्, जसले करोडौँको लगानी जीर्ण बन्न पुगेको छ। नगरपालिकाले उपयोग गर्न नसक्दा यी महत्त्वपूर्ण संरचनाहरू अहिले पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेका छन्।

तानसेन नगरपालिकाले ११ वर्षअघि तीन करोड ८० लाख रुपियाँ ऋण लिएर २०६९ चैत ८ गतेदेखि तीन स्थानका ऐतिहासिक संरचनाहरू बनाउन सुरु गरेको थियो। नारायणस्थान फूलबारीलाई पर्यटकीय स्थल बनाउने नगरपालिकाको महत्त्वाकाङ्क्षी योजना थियो। निर्माण व्यवसायीले संरचनाहरू निर्माण तथा मर्मतसम्भार गरी नगरपालिकालाई हस्तान्तरण गरेको सात वर्ष बितिसक्दा पनि पाटीपौवा, शौचालय, विश्रामस्थल र स्नानघरलगायतका संरचनाहरू प्रयोगमा आउन सकेका छैनन्।

स्थानीय बासिन्दाका अनुसार, निर्माण भएका संरचनाहरूको प्रयोग र रेखदेख हुन नसक्दा ती संरचनाहरू जीर्ण बनेका छन्। फूलबारीलाई उपयोगमा ल्याउन नसक्दा ऐतिहासिक पाटीपौवा र शौचालयहरू भत्किन थालेका छन्।

यस विषयमा तानसेन नगरपालिकाले नारायणस्थान फूलबारीलाई सञ्चालनमा ल्याउन हालसम्म ठोस योजना बनाउन सकेको छैन। तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले भने फूलबारी सञ्चालन गर्न बजेट अभाव भएको दाबी  छ। आफूहरू निर्वाचित हुनुअघि नै सबै संरचना टुटफुट भएकाले फुटेका संरचनाहरू पुनः बनाउन बजेटको कमी हुँदा समस्या आएको हो।

नारायणस्थान मन्दिर सेन वंशको पतनपछि वि.सं. १८६३ मा मुख्तियार अमरसिंह थापाले बनाउन लगाएका थिए। मन्दिरभित्रका टुँडालहरूमा कोरिएका कामुककलाका आकृतिहरूले दर्शनार्थी र अवलोकनकर्तालाई आकर्षित गर्ने गरेका छन्। ऐतिहासिक महत्त्व बोकेको यस स्थानको संरक्षण र उपयोगमा नगरपालिकाले तत्काल ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार