पाल्पा-नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस देशलाई भावनात्मक रूपमा गाँस्ने र बदल्ने शक्तिका रूपमा रहेको बताउनुभएको छ। पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले चुनावी मैदानमा रहेका कुनै पनि दल र प्रतिस्पर्धी उम्मेदवारलाई कांग्रेसले दुस्मन नमान्ने स्पष्ट पार्नुभयो।
उपसभापति शर्माले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै २०८४ मा हुनुपर्ने चुनाव किन २०८२ मै हुँदैछ भन्ने प्रश्नको जरा खोज्नुपर्नेमा जोड दिनुभयो। विगतका हिंसात्मक घटना र अस्थिरतालाई संकेत गर्दै उहाँले ७४ आमाको काख रित्तिएको र सिंहदरबार जलेको कारण पहिचान गरेर देशलाई सही ढंगले समन्वय गर्न सक्ने नेतृत्वको आवश्यकता औंल्याउनुभयो।
विशेषगरी युवा पुस्ताको मनोविज्ञानलाई सम्बोधन गर्दै शर्माले भन्नुभयो, “भविष्यमा जेन-जी पछिको पुस्ता अल्फाले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ नेतृत्व को सँग छ? मूल प्रश्न यो हो।” उहाँले देश हाँक्ने दाबी गर्नेहरूले ‘देश गाँस्ने’ मूल मन्त्रलाई भुल्न नहुने उल्लेख गर्नुभयो।
चुनावी जितहारलाई स्वाभाविक प्रक्रिया मान्दै उहाँले निर्वाचनपछि पनि सबै मिलेर देश निर्माणमा जुट्नुपर्ने र जनतामा नयाँ आशा र विश्वास जगाउनुपर्ने बताउनुभयो। कांग्रेसले सबैसँग हार्दिक र स्वस्थ प्रतिस्पर्धा गर्ने नीति लिएको स्पष्ट पार्दै उहाँले विपक्षीको आलोचना गर्दा गालीगलौजमा नउत्रन देशभरका पार्टी उम्मेदवारहरूलाई आग्रह समेत गर्नुभयो।
शर्माले कांग्रेसको मूल मन्त्र नै सबैलाई समेटेर अघि बढ्ने र मुलुकको रूपान्तरण गर्ने रहेको दाबी गर्नुभयो।























