पाल्पा-रामपुर नगरपालिकाले विद्यालयका शिक्षाकहरुलाई योग शिक्षा प्रदान गरेको छ । नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको हो । रामपुर नगरपालिकाले योग प्रशिक्षकको व्यवस्था गरि विद्यालयका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा प्रदान गरेको हो ।
योग प्रशिक्षण कार्यक्रमको सोमबार समापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वस्थ जीवन र स्वच्छ समाज निर्माणका लागि योग साधनाको आवश्यकता रहेको बताए । उनले स्वस्थ जीवन र स्वच्छ मस्तिष्कले मात्र स्वस्थ समाज निर्माण हुने उल्लेख गरे ।उनले विद्यार्थीहरुलाई योग साधना सम्बन्धी ज्ञान विद्यालय शिक्षणको क्रममा प्रदान गर्नका लागि शिक्षकहरुलाई प्रशिक्षण कार्यक्रम गरेको बताए ।
कार्यक्रममा जनविकास माध्यमिक विद्यालयका सहभागि शिक्षक कृष्णकला भण्डारीले आध्यात्मको माध्यमबाट नैतिकवान नागरिक निर्माणका लागि योग प्रशिक्षण कार्यक्रमले टेवा पुर्याउने भन्दै यो कार्यक्रम आयोजना गरेकोमा रामपुर नगरपालिकालाई धन्यवाद दिए । रामपुर नगरपालिका वडा नं।७ किसानबारीको योगहलमा भएको योग प्रशिक्षण समापन कार्यक्रममा सहभागि शिक्षकहरुलाई प्रमाण पत्र सहित योग सम्बन्धी पुस्तक प्रदान गरिएको छ ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।
























