रिब्दीकोट- पाल्पाको रिब्दीकोट गाउँपालिकाको गाउँ सभाको २० औं अधिवेशन मंगलबारदेखि सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा बसेको अधिवेशनको पहिलो बैठकले दुई महत्त्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ भने आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेको छ।
गाउँसभाको पहिलो बैठकमा कार्यपालिका सदस्य ओम प्रसाद पोखरेलले पेश गर्नुभएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८३’ र कार्यपालिका सदस्य सुनिल बस्यालले पेश गर्नुभएको ‘शिक्षा ऐन २०७४ लाई संशोधन गर्ने विधेयक–२०८३’ सर्वसम्मत रूपमा पारित भएका हुन्। यसैगरी, गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले पेश गर्नुभएको बुटवल उपमहानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने प्रक्रिया अगाडि बढाउने प्रस्ताव र कार्यपालिका सदस्य चिरञ्जिवी पोखरेलले पेश गर्नुभएको ‘रिब्दीकोट गाउँपालिकाको बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि २०८३’ लाई दफावार छलफलका लागि सभा समक्ष अगाडि बढाइएको सभाका सचिव सुरेश भुसालले जानकारी दिनुभयो।
अधिवेशनमा चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको समीक्षा गर्दै सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले कुल विनियोजित ५४ करोड ९८ लाख ९३ हजार २३२ रुपैयाँ बजेटमध्ये ११ महिनाको अवधिमा पूँजीगततर्फ ५० दशमलव ८९ प्रतिशत र चालुतर्फ ६५ दशमलव ९८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो। यस्तै, चालू आर्थिक वर्षमा ९३ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ९८ प्रतिशत प्रगति हासिल भइसकेको उहाँले बताउनुभयो। गाउँपालिकाले यस अवधिमा ‘एक बोट सयको नोट’ कार्यक्रम अन्तर्गत करिब २५ प्रजातिका फलफूल तथा जडिबुटीका ३८ हजार बढी बिरुवा माग भई उपलब्ध गराउने प्रक्रियामा रहेको जानकारी दिँदै कृषि, पशुपालन, यातायात पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनका क्षेत्रमा सन्तोषजनक उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो।
बैठकमा अध्यक्ष कार्कीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १६ वटा क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। गाउँपालिकाले विशेष गरी कृषि, पशुपालन, पर्यटन र पूर्वाधार विकासका माध्यमबाट समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प गरेको छ। कृषि उपजमा आत्मनिर्भर बन्दै निर्यात प्रवर्द्धन गर्नका लागि अकबरे खुर्सानी, बेसार, सुन्तला र अदुवा लगायतका बालीहरूका लागि विशेष “पकेट क्षेत्र” निर्धारण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। स्थानीय स्तरमा उद्योग तथा व्यवसाय प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्नका लागि विशेष कर नीतिको अवलम्बन गरिने, भौतिक पूर्वाधारको स्तरोन्नति, वन तथा वातावरण संरक्षण, र विपद व्यवस्थापनमा जोड दिइने गाउँपालिकाको योजना छ।
सेवा प्रवाहलाई चुस्त र आधुनिक बनाउन विद्युतीय सरकार (ई–गभर्नेन्स) को अवधारणा बमोजिम कार्य अगाडि बढाउने, स्वच्छ, पारदर्शी, जनमैत्री तथा भ्रष्टाचारमुक्त सार्वजनिक सेवा प्रवाह गर्ने, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सुनिश्चित गर्ने विषयलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ। साथै, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, पालिकाभित्र रहेका ऐलानी, पर्ती, सरकारी तथा सार्वजनिक जग्गाहरूको लगत संकलन, नक्साङ्कन र सीमाङ्कन गरी संरक्षण गर्ने तथा धार्मिक एवं पर्यटकीय क्षेत्रको विकास गर्ने नीति पालिकाले अघि सारेको छ।
बैठकको कार्यसूची अनुसार सभाका सदस्यहरू सोम बहादुर कार्की, प्रकाश रायमाझी, ओम प्रसाद पोखरेल र चिरञ्जिवी पोखरेलले कार्यपालिकाका सबै सदस्यहरू समृद्ध रिब्दीकोट बनाउन एकजुट भएर लागेको बताउनुभयो। उहाँहरूले सीमित स्रोत र साधनका बाबजुद नागरिकको चाहना र आवश्यकता अनुसार अधिकतम सेवा दिने प्रयास भइरहेको उल्लेख गर्नुभयो। बैठकको शून्य समयमा सभाका सदस्यहरू सरस्वती श्रेष्ठ, राजेन्द्र प्रसाद नेपाल, मोहनसिंह राना, दुर्गाप्रसाद ढकाल र भरत जिसीले समसामयिक र स्थानीय विकासका सवालमा आफ्ना भनाइहरू राख्नुभएको थियो।























