“परदेशी जागिरे हुनुभन्दा आफ्नै घरको नोकर हुनुमा जीवनको वास्तविक अर्थ र गौरव छ । त्यसैले सीप सिकौँ, स्वाभिमानका साथ खुसीले जीवन जिऔँ ।” अर्घाखाँचीका सर्म बहादुर नेपाली (साइला दाई) को यो भनाइ आजका श्रमका लागि तँछाडमछाड गर्दै परदेशिने हजारौँ युवाहरूका लागि एउटा जीवन्त पाठ हो । परदेशमा सजिलै पैसा कमाउन सकिन्छ भन्ने हल्लाको भरमा भारत पुगेका साइला दाईले त्यहाँ सोचे जस्तो सुख पाएनन् । उल्टै एकदिन सँगै काम गर्ने सहकर्मीले तीव्र कटाक्ष गर्दै भने– “आप यहां इसलिए आये हैं क्योंकि आपको अपने देश में काम नहीं मिला, इसलिए चुप रहें और आदेशों का पालन करें” (तिमी यहाँ यसकारण आएका हौ किनभने तिमीले आफ्नो देशमा काम पाएनौ, त्यसैले चुपचाप बस र भनेको मान)।
सहकर्मीको यो रुखो र अपमानजनक शब्दले साइला दाईको आत्मसम्मानमा ठूलो चोट पु¥यायो । तर, यही तिरस्कार नै उनको जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो । पराई भूमिमा अपमानित भएर बस्नुभन्दा आफ्नै देशमा केही सीप सिकेर उद्यम गर्ने दृढ संकल्पका साथ उनी जन्मभूमि फर्किए ।
पारिवारिक पृष्ठभूमि र सीपको जग
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २, चिदिपानीमा आमा कुन्ती देवी नेपाली र बुवा धन बहादुर नेपालीको कोखबाट जन्मिएका सर्म बहादुर नेपाली अहिले समाजमा ‘साइला दाई’ को नामले परिचित छन् । भारतबाट फर्किएपछि उनले सजिलो बाटो रोजेनन। नेपाली माटो र संस्कृतिसँग जोडिएको रैथाने सीप सिक्ने उद्देश्यले उनी छत्रदेव गाउँपालिकाको बल्कोट पुगे र मादल बनाउने तालिम लिए ।
सीप सिकिसकेपछि उनले सोही क्षेत्रमा मादलको व्यवसाय सुरु गरे । नेपाली लोकसंस्कृतिको मुटु मानिने मादल परापूर्वकालदेखि नै गीत–संगीतलाई मूर्त रूप दिने मुख्य औजार हो । हाम्रा बाजे–बराजुले मादलको तालमा रोधी बस्दाका रमाइला किस्सा सुनाउँदा आजको नयाँ पुस्ता इतिहास सुनेझैँ चकित पर्छ । यस्तो गौरवमय इतिहास बोकेको मादल बनाउने पेशा रोज्नु साइला दाईका लागि भने सहज थिएन । मृत जनावरको छालाबाट तयार पारिने हुनाले विगतमा यो पेशालाई समाजले ‘दुर्गन्धित’ र तल्लो स्तरको पेशाका रूपमा हेर्ने गथ्र्यो । परिवारमा पनि बाजेका पालादेखि कसैले नगरेको यो काम एक्लै सुरु गर्नु चुनौतीपूर्ण थियो । तर, “सीप आफूमा निहित यस्तो सम्पत्ति हो, जसलाई जीवनको कुनै पनि कालखण्डमा कसैले अंशबन्डा गर्न सक्दैन” भन्ने बलियो सोचका साथ उनले परम्परागत सामाजिक सोचलाई चुनौती दिँदै यसै पेशालाई निरन्तरता दिए ।
चुनौती र संघर्षका मोडहरू
व्यवसाय सुरु गरेपछि साइला दाईले अर्को एउटा सामाजिक र व्यावसायिक चुनौतीको सामना गर्नुप¥यो । आफूलाई सीप सिकाउने गुरुको पसलकै अगाडि व्यवसाय सुरु गरेपछि उनलाई ’प्रतिस्पर्धी बनेर अवरोध खडा गरेको’ आरोप लाग्यो । यो नैतिक दबाब र विवादबाट बच्न उनले आफ्नो व्यावसायिक रणनीति बद्ले र बजारको कोलाहल छाडेर आफ्नै घरमै बसेर शान्तपूर्वक मादल निर्माणको कामलाई निरन्तरता दिन थाले ।
झट्ट हेर्दा निकै फुर्तिला र सुकिला देखिने साइला दाई आफ्नो सफलताको श्रेय श्रीमती सुमित्रा नेपालीलाई दिन्छन् । उनी भावुक हुँदै भन्छन्, “आफूले आँटेको काममा सफल हुनका लागि परिवारको साथ सबैभन्दा बलियो काँध हो, जसले असम्भवलाई पनि सम्भव बनाउँछ ।” श्रीमती र परिवारको यही बलियो साथकै कारण उनले मादल बेचेरै घर बनाए, छोराछोरीलाई राम्रो शिक्षा दिए र उनीहरूको विवाहदान समेत गराए । आज उनलाई आर्थिक अभावकै कारण कसैको दैलोमा हात थाप्न जानु परेको छैन ।
लघुवित्तको सारथी र आर्थिक उपार्जन
पेशालाई अझ ठूलो र व्यवस्थित बनाउन लगानीको आवश्यकता थियो । आम्दानीको केही अंश बचत गर्ने र थप पूँजी परिचालन गर्ने सोच बनाइरहेका बेला २०७५ सालमा उनको जीवनमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (शाखा कार्यालय, पोखराथोक) को आगमन भयो । संस्थाको ‘सृजनशील बैंकिङ्ग समुदाय’ मा आबद्ध भई साइला दाईले बचत तथा कर्जा कारोबार सुरु गरे । करिब ३० जना सदस्य रहेको उक्त समूहमा आबद्ध भएर हाल उनले ३ लाख रुपैयाँसम्मको कर्जा परिचालन गरिरहेका छन् । मादलको मुख्य सिजन (श्रावणदेखि कात्तिकसम्म) मा उनले वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म खुद आम्दानी गर्छन् । उता उनकी श्रीमती सुमित्राले पनि मासिक रूपमा नियमित बचत गर्दै घरमा कृषि तथा खेतीपाती सम्हालेर आर्थिक जगलाई बलियो बनाएकी छिन् ।
मादल बनाउने पेशामा २८ वर्ष लामो जीवन बिताइसकेका साइला दाई आफूलाई पैसाको सही व्यवस्थापन र मूल्य चिन्न सिकाएकोमा जनउत्थान लघुवित्तलाई हृदयदेखि धन्यवाद दिन्छन् ।
रैथाने सीपको संरक्षण
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले स्थानीय श्रम, सीप र बचतलाई परिचालन गर्दै समावेशी वित्तीय प्रणालीमार्फत स्वाधीन अर्थतन्त्रको निर्माणमा ठूलो टेवा पु¥याउँदै आएको छ । संस्थाले सञ्चालन गरेको “रैथानेमा गर्व गरौँ, स्थानीय उत्पादन र उपभोगको प्रवद्र्धन गरौँ” भन्ने अभियान साँच्चै नै प्रशंसनीय छ ।
साइला दाईजस्ता हजारौँ रैथाने सीपका विज्ञहरूको पहिचान गर्नु, उनीहरूको उत्पादनको संरक्षण गर्नु र उत्पादित सामग्रीलाई उचित बजारीकरणको ग्यारेन्टी गर्नु आजको राज्य र स्थानीय समाजको दायित्व हो । यदि मादलको बजारीकरण र कच्चा पदार्थको सहज उपलब्धता हुने हो भने अझै मिहिनेतका साथ लाग्ने साइला दाईको इच्छा छ । आउनुहोस्, हामी पनि साइला दाईजस्ता उद्यमीहरूबाट प्रेरणा लिऊँ र आफ्नै माटोमा स्वरोजगार बन्दै रैथाने कला र संस्कृतिको संरक्षणमा जुटौँ ।
























