Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा- पाल्पाको रामपुर नगरपालिका वडा नं. १०, माथिल्लो मनभागाका स्थानीयवासीको दशकौंदेखिको खानेपानी समस्या समाधान भएको छ। वर्षौंअघि घण्टौँ लगाएर खोल्सा-खोल्सीबाट धमिलो पानी बोक्नुपर्ने बाध्यताको अन्त्य हुँदै अब घर-घरमै शुद्ध खानेपानीको धारा जडान भएको छ।

रामपुर नगरपालिकाले विभिन्न आर्थिक वर्षमा कुल १७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरी लिफ्टिङ प्रणाली मार्फत माथिल्लो मनभागा खानेपानी योजना सम्पन्न गरेको हो। यस योजनामा उपभोक्ताको तर्फबाट पनि ४ लाख २१ हजार ६ सय रुपैयाँ नगद र जनश्रमदान योगदान रहेको छ। २२ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरी १८ घरधुरीमा पानी वितरण गरिएको माथिल्लो मनभागा खानेपानी योजनाका सचिव थानबहादुर गाहाले जानकारी दिए।

स्थानीय अमिता थापाले घरमै २४ सै घण्टा पानी आउँदा दैनिकी सहज भएको र स्वर्गको अनुभूति भएको बताइन्। छमबहादुर गाहा र तहल सिं खाम्चा जस्ता स्थानीयहरूले पानीको जोहो गर्न खर्च हुने समय अब खेतीपाती र अन्य काममा सदुपयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले २०७४ को निर्वाचन प्रचारका क्रममा आफूले पानीको समस्या देखेर चुनाव जिते पनि हारे पनि पानी खुवाउने प्रतिबद्धता गरेको र सोही अनुसार योजना सम्पन्न भएको बताए। उनले जनताको आवश्यकता पूरा गर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै तीनै तहका सरकार र सरोकारवालाबीच समन्वय र सहकार्यको आवश्यकता औंल्याए। वडा अध्यक्ष तोयानाथ सारु थापाले भौगोलिक विकटता र बजेट अभावका कारण समस्या समाधानमा ढिलाइ भएको बताए पनि नगरले जनताको आधारभूत आवश्यकता पूरा गर्न विभिन्न योजना सञ्चालन गरिरहेको स्पष्ट पारे।

सम्बन्धित समाचार