तानसेन-तानसेन नगरपालिका–६ बर्तुङमा रहेको जनप्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि तीन लाख रुपैयाँभन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ। विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पोष्टराज उपाध्याय भट्टराई र उहाँकी जीवनसङ्गिनी जानकादेवी उपाध्यायका सात छोरी–ज्वाइँहरूको लगानीमा “जानकादेवी पोष्टराज भट्टराई स्मृति अक्षयकोष” स्थापना गरिएको हो।
बिहीबार तीन लाख ५ रुपैयाँ राशिको उक्त अक्षयकोष विद्यालयलाई हस्तान्तरण गरिएको हो। कार्यक्रमका तानसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सागरमान महर्जनले शिक्षा क्षेत्रमा गरिएको यस्तो योगदानलाई दानहरूमध्येकै ‘महादान’ को रूपमा चित्रण गर्नुभयो। उहाँले यस पुनित कार्यले गरिब तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै अक्षयकोष दाता परिवारलाई विशेष धन्यवाद समेत ज्ञापन गर्नुभयो।
अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याजको रकम विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार र विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा वितरण गरिने विद्यालयका प्रधानाध्यापक हिरा आचार्यले जानकारी दिनुभयो। विद्यालयको शैक्षिक विकास र विद्यार्थीको उज्ज्वल भविष्यका लागि यो कोष कोसेढुङ्गा सावित हुने विश्वास विद्यालय परिवारले लिएको छ।
उद्घाटन कार्यक्रममा तानसेन नगरपालिकाका अधिकृत भरत आचार्य, अक्षयकोष संरक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सामाजिक सेवा र शैक्षिक प्रोत्साहनका लागि भट्टराई परिवारले चालेको यो कदमको स्थानीय स्तरमा उच्च प्रशंसा गरिएको छ।























