चिदीपानी-माथागढी गाउँपालिका–१, चिदीपानीमा एच.पि.भी. खोप २०८२ अन्तर्गत वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम माथागढी गाउँपालिका–१ का वडा अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा चिदीपानी स्वास्थ्य चौकी प्रमुख धुर्ब बहादुर सुनारले एच.पि.भी. खोपसम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो। अभिमुखीकरणमा खोपको महत्व, लक्ष्य समूह तथा खोप सञ्चालन प्रक्रियाबारे विस्तृत जानकारी गराइएको थियो।
अभिमुखीकरण कार्यक्रममा चिदीपानीका चार विद्यालयमा अध्ययनरत कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका ३० जना बालिकालाई एच.पि.भी. खोप लगाइने सवस्थ्य चौकि प्रमुख धुर्ब बहादुर सुनारले जानकारी दिनुभयो।
कार्यक्रममा खोप समन्वय समिति सदस्य शेर बहादुर विक, सौभाग्य माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा समिति सदस्य कृष्ण प्रसाद खनाल, चिदीपानी आयुर्वेद औषधालय प्रमुख डा श्रीधर अधिकारी, जगन्नाथ शर्मा काफ्ले, ग्यानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक विजयदीप पन्थी, जाउपोखरा आधारभूत विद्यालय, आदर्श आधारभूत विद्यालय, सौभाग्य माध्यमिक विद्यालयलगायतका विद्यालय प्रतिनिधि, स्वास्थ्य चौकीका कर्मचारी तथा महिला स्वास्थ्य सामुदायिक स्वयंसेविकाको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष राजकुमार पन्थीले एच.पि.भी. खोपले किशोरीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले क्यान्सरजस्तो गम्भीर रोगको रोकथामका लागि एच.पि.भी. खोप प्रभावकारी माध्यम रहेको बताउँदै अभिभावक, विद्यालय र स्वास्थ्य संस्थाबीचको सहकार्यबाट लक्षित समूहका सबै बालिकालाई खोप सुनिश्चित गर्न वडा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै उहाँले खोप कार्यक्रम सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्न स्वास्थ्यकर्मी, शिक्षक तथा महिला स्वास्थ्य सामुदायिक स्वयंसेविकाप्रति आग्रह गर्नुभयो। कार्यक्रमको सन्चालन जैसवालले गर्नुभएको थियो।























