Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सोमप्रसाद पाण्डेले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्ग आफ्नो पहल र प्रस्तावमा सुरु भएको दाबी गर्नुभएको छ।

मंगलबार तिनाउ गाउँपालिका–२, दोभानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री पाण्डेले वि.सं. २०७५ सालमा आफूले नै तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई सुरुङमार्गको प्रस्ताव बुझाएको बताउनुभयो। “सिद्धबाबामा बढ्दो सवारी दुर्घटना रोक्न सुरुङमार्ग अपरिहार्य छ भनेर मैले नै सरकार र अन्य नेताहरूलाई सहमत गराएको हुँ,” उहाँले भन्नुभयो, “नेपालमा विज्ञ नभएपछि स्विजरल्याण्डका राजदूतसँग समन्वय गरेर प्राविधिक टोली झिकाउने काम पनि मेरै पहलमा भएको हो।”

आफू उम्मेदवार बन्ने व्यक्तिगत चाहना नभए पनि पार्टी नेतृत्वको आग्रहमा पाल्पाको विकासका लागि पुनः मैदानमा आएको उहाँको भनाइ थियो। उहाँले चुनाव जितेपछि कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ कार्ययोजनाका साथ काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

भेलामा नेकपा नेतृ पार्वती विक (सामना) लगायतका स्थानीय नेताहरूले बदलिँदो राजनीतिक परिस्थितिमा नेकपाको जित आवश्यक रहेको भन्दै पाण्डेलाई मतदान गर्न आग्रह गर्नुभएको थियो। पाल्पा क्षेत्र नं. २ मा यसपटक पाण्डे र एमालेका ठाकुर गैरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

सम्बन्धित समाचार