बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजना तथा सूचना प्रविधि प्रवद्र्धन केन्द्र काठमाडौँ सहकार्यमा बुटवलका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई साइबर सुरक्षा तथा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई सामाजिक सञ्जाल र इन्टरनेटको सुरक्षित रुपमा प्रयोग गरी साइबर ठगीबाट जोखिनका लागि बुटबलका चार विद्यालयमा साइबर सुरक्षा तथा डिजिटल साक्षरता सम्वन्धी कार्यम सञ्चालन गरिएको हो ।
बुधबार बुटबलको क्रान्ति माविबाट सुरु भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेले उद्घाटन गर्दै भन्नुभयो, “साइबर सुरक्षा सम्वन्धी जे जति कानुन बन्नुपर्ने, जति मात्रामा जनचेतना हुनुपर्ने थियो । त्यति मात्रामा साइबर सुरक्षा सम्वन्धी काम हुन सकेको छैन ।” उहाँले भन्नुभयो, “हामीले जतिबेला पनि मोवाइल प्रयोग गछौँ, रातिको समयमा पनि ब्यूझिएर मोवाइल चलाउछौँ, एक हप्ता मोवाइल नदिने हो भने मानिसहरु विरामी पर्न सक्छन् ।”
मोवाइलको अत्याधिक प्रयोगले सकारात्मक सँगै पछि पछुताउने र साइबर क्राइममा पर्ने समस्यामा पर्ने भन्दै उहाँले बुटबलका विद्यालयहरु साइबर सुरक्षा सम्वन्धी कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । कालिका मानव ज्ञान माविको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रा देवी अर्यालले विद्यालय शिक्षा अहिले आधुनिक प्रविधिहरुको प्रयोग गरी मोवाइल र ल्यापटप मार्फत पठनपाठन हुने गरेको बताउनुभयो ।
उहाँले आफु बाल्यकालमा अध्ययन गर्दाको स्मरण गर्दै भन्नुभयो, “अहिले बालबालिकाहरुले मोवाइल, ल्यापटप बोकेर विद्यालय गएझैँ म पिर्काबाट बोकेर विद्यालय जानुपर्ने बाध्यता थियो ।” उहाँले विद्यार्थीहरु सबै सुरक्षित हुनुपर्छ भन्ने मान्यताका साथ बुटबल उपमहानगरपालिकाले साइबर ठगीबाट जोगिनका लागि साइबर सुरक्षा सम्वन्धी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
बुटबलका क्रान्ति मावि, नयाँगाउँ मावि, जितेश्वरी मावि, कालिका मानव ज्ञान मावि, प्रगति मावि र नवीन औधोगिक कदर बहादुर रिता माविमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको सूचना प्रविधि प्रवद्र्धन केन्द्र काठमाडौँका कार्यक्रम संयोजक अनिलकिशोर घिमिरेले बताउनुभयो ।
कार्यक्रममा डिजिटल साक्षरता, साइबर अपराध, साइबर सुरक्षा महत्वपूर्ण, साइबर जोखिमहरू, यसबाट बच्न उपायहरु, सामाजिक सञ्जालको प्रयोग र वित्तीय सुरक्षा, बालबालिका तथा किशोर किशोरीहरुलाई कसरी अनलाइन ठगीबाट सुरक्षित राख्ने, मिथ्य सुचना र यसबाट कसरी जोगिने, मोवाइल एस र डाटाको गोपनीयता ः आधिकारिक एस मात्र प्रयोग गर्ने, मोवाइलबाट अनावश्यक एस हटाउने, कृतिम बौद्धिकता के हो ? मोवाइलमा एस र डाटाहरु सुरक्षित राख्ने दैनिक जीवनमा प्रयोग हुने एआइ के के हुन ? नयाँ प्रविधि र जोखिमः डिफेकबाट सावधानी हुने तरिका र असल डिजिटल नागरिक कसरी बन्ने, कस्ता कार्य साइबर अपराध अपराध मानिन्छन ? सजाय र जरिवानाका विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण सूचना प्रविधि प्रवद्र्धन केन्द्रका कार्यक्रम संयोजक तथा अधिवक्ता अनिलकिशोर घिमिरे, पत्रकार कृष्ण दर्नाल, आइटी विज्ञ सुदीप पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बुटबल उपमहानगरपालिका, सामाजिक विकास शाखाका प्रमुख विजय भुतेल, क्रान्ति माविका प्रअ गोविन्द ज्ञवाली, कालिका मानव ज्ञान माविका सहायक प्रम विष्णुहरि ज्ञवाली, प्रगति माविका प्रअ रोमा पाण्डेयले साइबर सुरक्षा सम्वन्धी कार्यक्रम विद्यार्थीहरुका लागि उपयोगी हुने बताउनुभयो ।
























