गुल्मी-रुरु गाउँपालिका, बम्घाका ७० वर्षीय शेर बहादुर चुदारा कुनै समय कलात्मक काठका भाँडा बनाउने काम गर्थे। काठका भाँडा तथा सजावटका सामग्री तयार पार्दै उनले राम्रो नाम कमाएका थिए। तर, परम्परागत पेशाबाट गुजारा चल्न नसकेपछि उनले वैकल्पिक व्यवसाय रोजे। गेठी, कटहर जातका रुखको ठुटाबाट मेहनत तथा परिश्रम गरी मोही पार्ने ठेका, दही-दूधको ठेकी, घिउ राख्ने हर्पे, अचार बनाउने आरी, तेल राख्ने चौडी बनाउन माहिर शेर बहादुर अहिले भने पाल्पामा व्यवसाय सञ्चालन गरिरहेका छन्।
शेर बहादुर मात्र होइन, अर्घाखाँचीको सितगंगा नगरपालिका, बुढीचौरका राम बहादुर चुनार पनि आफ्नो पुर्खौली पेशा छोड्न बाध्य भए। पहिले-पहिले, चुनार समुदायका कारीगरहरू काठका ठेका-ठेकी बनाउन विभिन्न गाउँहरूमा हप्तौंसम्म बास बस्दै काम गर्थे। मेलापर्वपछि मात्रै घर फर्किन्थे। तर, ती दिनहरू अहिले केवल स्मृतिमा सीमित भएको शेर बहादुर बताउँछन्।
सस्त्रा भाँडाले विस्थापित पुरानो पेशा
एक दशकअघिसम्म गुल्मी जिल्लामा काठको भाँडा निर्माण गर्ने चुनार समुदायका कारीगरहरूलाई कामको चटारो हुन्थ्यो। उनीहरू आफ्नै श्रमबाट रोजगारी सिर्जना गर्न सफल थिए। तर, आधुनिक विकाससँगै प्लास्टिक तथा धातुका सस्ता भाँडाहरू बजारमा आउन थालेपछि परम्परागत व्यवसाय विस्थापित हुन पुग्यो। गुल्मी मदाने गाउँपालिकाका श्याम बहादुर चुनारा भन्छन्, “पहिले हाम्रो काम राम्रो चल्थ्यो। अहिले प्लास्टिक र स्टिलका भाँडा सस्तोमा पाइने भएकाले हाम्रो परम्परागत व्यवसाय टिक्न सकेन।”
चुनार पेशाको पतन: अनुभवीहरूका कथन
रैनादेवी छहरा गाउँपालिका, बल्डेड्डगढी जोगदमारकी कमला कार्की पुरानो पुस्ताकी प्रतिनिधि हुन्। उनी भन्छिन्, “पहिले भाइटीका सकेपछि चुनार समुदायका कारीगरहरू गाउँमा हप्ता १० दिन बास बस्दै ठेका-ठेकी बनाउने गर्थे। अहिले, गाई-भैंसी पाल्ने चलन घट्दै गएको छ, जसका कारण यस्ता परम्परागत भाँडाहरूको माग पनि घटेको छ।”
रिब्दीकोट गाउँपालिका, ख्याहाकी बालकुमारी पोखरेल भन्छिन्, “काठका भाँडामा राखिएको दूध, दही, घिउ स्वादिलो हुन्छ। तर, प्लास्टिक र स्टिलका भाँडाहरू सस्तो तथा सजिलो भएकाले अहिले तिनै प्रयोग भइरहेको छ। नेताहरूले काष्ठकलालाई जोगाउने भाषणमात्रै गर्छन्, तर ठोस पहल गर्दैनन्।”
नयाँ पुस्ताको चासोको अभाव
नयाँ पुस्ताका नेत्र बहादुर भन्छन्, “बाबुबाजेले कटहर र गेठीको काठबाट ठेका-ठेकी, हर्पे जस्ता भाँडाहरू बनाउनु हुन्थ्यो। तर, मेहनत अनुसारको मूल्य नपाइने भएकाले मैले यो पेशा अपनाउने सोच नै गरिनँ।” काठका भाँडाहरूको बिक्री घट्दै गएपछि कारीगरहरूले उत्पादन नै बन्द गरेको उनी बताउँछन्।
गुल्मी र अर्घाखाँचीमा परम्परागत काष्ठकलाका सिपालुहरू वृद्ध भइसके, तर नयाँ पुस्ताले यसतर्फ चासो नदेखाएकाले यो पेशा लोप हुँदै गएको राम बहादुर चुदारा बताउँछन्। परम्परागत काष्ठकलालाई जोगाउन सरकारी नीति र युवापुस्ताको चासो जरुरी देखिन्छ।
























