स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको फाइबरबाट हस्तकलाका सामग्री उत्पादन गर्दै आएको छ। स्थानीय स्रोतको व्यावसायिक उपयोग गर्दै हस्तकलाका सामग्री उत्पादन गर्न नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सरकारको साझेदारीमा यो परियोजना सञ्चालन गरिएको हो।
आर्थिक वर्ष २०७९/८० मा सुरु भएको यस परियोजनामा गण्डकी प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत सहभागिता रहेको छ। कुल रु एक करोडको लगानीमा सञ्चालनमा आएको परियोजना अन्तर्गत हस्तकलाका सामग्री उत्पादन गर्न ४५ दिने तालिम प्रदान गरिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए
कच्चा पदार्थको रुपमा आवश्यक केराको थाम किसानलाई निःशुल्क उपलब्ध गराइँदै आएको छ। तालिम लिएका व्यक्तिहरूमध्ये सात जना महिलाले दैनिक ज्यालादारीमा कार्य गर्दै आएका छन्। किसानहरूले केराबाट उत्पादन लिइसकेपछि खेर जाने केराको थाम गाउँपालिकाले प्रति थाम रु २५ देखि रु ४५ सम्मको दरमा खरिद गर्दै आएको छ।
गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार बाहिरबाट आयात गरिने अतिथि सत्कार सामग्रीलाई निरुत्साहित गर्दै स्थानीय कच्चा पदार्थबाट निर्मित हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्न जोड दिइएको छ। हाल खादा, गलैँचा, झोला लगायतका सामग्री उत्पादन भइरहेका छन् भने भविष्यमा अझै गुणस्तरीय सामग्री उत्पादन गर्ने योजना रहेको बताइएको छ।
यस परियोजनाले वातावरणमैत्री उत्पादन प्रवर्द्धन गर्दै रोजगारीका अवसर सिर्जना गरिरहेको छ। प्लास्टिकजन्य फोहर न्यूनीकरण गर्दै केराको थाम पुनः प्रयोग गरी विभिन्न उपयोगी वस्तु उत्पादन गर्न ग्रामीण उद्यमशीलताको उत्कृष्ट उदाहरण बनेको कालीगण्डकी गाउँपालिकाको यो प्रयास प्रेरणादायी देखिएको छ।
























