पाल्पा-पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुम सुनारी मगरले आफ्नो निर्वाचन क्षेत्रमा प्रचार-प्रसार अभियानको औपचारिक सुरुवात गर्नुभएको छ। नेकपाका उम्मेदवार सुनारीले मंगलबार आफ्नै जन्मथलो रम्भा गाउँपालिका–२, झोकेदी स्थित जिल्लाकै महत्वपूर्ण पर्यटकीय स्थल रिमिघाबाट चुनावी अभियानको शुभारम्भ गर्नुभएको हो।
चुनावी अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उम्मेदवार सुनारीले सुशासन स्थापना, अनियमितता र भ्रष्टाचारको अन्त्य आफ्नो उम्मेदवारीको मूल उद्देश्य रहेको बताउनुभयो। उहाँले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र गलत प्रवृत्तिले ग्रसित भएको उल्लेख गर्दै यस्तो प्रणालीको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था प्रमुख एजेन्डा रहेको स्पष्ट पार्नुभयो।
सुनारीले जेन्जी, जेनजेट का माग र आफूले उठाएका एजेन्डा समान रहेको दाबी गर्दै यस निर्वाचनमा आफूलाई अत्यधिक मत दिएर विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो। उहाँले पूर्वी पाल्पा विकासको दृष्टिले पछाडि परेको बताउँदै भौतिक पूर्वाधार, पर्यटन विकास, बढ्दो बसाइँसराइ न्यूनीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्न आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्नुभयो ।
“विगत ३५ वर्षदेखि एउटै शक्तिलाई जिताउँदा पनि जनताका समस्या समाधान भएनन्,” सुनारीले भन्नुभयो, “अहिलेको पुस्ता (Gen Z) का चाहना र मेरा एजेन्डा समान छन्। त्यसैले अब योग्य र सक्षम प्रतिनिधिलाई चुन्ने बेला आएको छ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको उप-निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढेको छ।
सुनारीले आफू लामो समयदेखि सामाजिक र विकासका क्षेत्रमा सक्रिय रहेकाले मतदातालाई कुनै प्रलोभनमा नपरी आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ।























