पाल्पा-पाल्पाको रिब्दीकोट गाउँपालिकाले कृषि र पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यसै क्रममा वडा नं. १ ख्याहाले दूध उत्पादक किसानहरूलाई क्यान वितरण गरेको छ भने गाउँपालिकाले लघुउद्यम विकासका लागि तालिम समेत सुरु गरेको छ।
रिब्दीकोट गाउँपालिका वडा नं. १ वडा कार्यालयले दूधको कारोबार गर्ने ८० जना किसानहरूलाई दूध संकलन र ढुवानीमा सहज होस् भन्ने उद्देश्यले क्यान वितरण गरेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत १ लाख ५० हजार रुपैयाँको बजेटबाट साढे ७ लिटर र ५ लिटर क्षमताका दुई थरी क्यान वितरण गरिएको हो।
वडाध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार दूधको गुणस्तर जोगाउन र किसानलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको हो। “क्यानमा राखिएको दूध हावा, धुलो र जीवाणुबाट सुरक्षित रहन्छ, जसले गर्दा दूध पोखिने वा नोक्सान हुने सम्भावना कम हुन्छ र गुणस्तर पनि कायम रहन्छ,” उहाँले भन्नुभयो।
ख्याहामा करिब १०० जना किसानले व्यावसायिक पशुपालन गर्दै आएका छन्। त्यहाँ संकलन गरिएको दैनिक करिब ४०० लिटर दूध तानसेन पठाइने गरिन्छ। साथै, रिब्दीकोट गाउँपालिकाले दूध उत्पादनमा किसानलाई प्रतिलिटर ४ रुपैयाँ अनुदान समेत दिँदै आएको छ।
स्थानीय किसान रामप्रसाद न्यौपानेले क्यान पाएपछि खुसी व्यक्त गर्दै भन्नुभयो— “पहिले दैनिक फरक-फरक भाँडा प्रयोग गर्नुपर्ने बाध्यता थियो, अब दूध संकलन केन्द्रसम्म लैजान निकै सजिलो भएको छ।”























