Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी पाल्पा निर्वाचन क्षेत्र नं. २ ले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी पाल्पाको प्रतिबद्धतापत्र सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी नेकपाका केन्द्रीय नेता तथा पाल्पा निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेय, नेकपाका केन्द्रीय नेता यादव बहादुर रायमाझी, अनिल किशोर घिमिरे, राजेन्द्र विश्वकर्मा तथा अशोक कुमार शाहीले प्रतिवद्धतापत्र संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।

पार्टीले सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन, परिमार्जन र समाजवाद उन्मुख राज्य निर्माणलाई आफ्नो मुख्य कार्यभारका रूपमा प्रस्तुत गरेको हो ।

देशमा राजनीतिक परिवर्तन ल्याउन कम्युनिष्ट र वामपन्थी शक्तिहरूको ऐतिहासिक भूमिका रहेको स्मरण गर्दै जारी प्रतिबद्धता पत्रमा भाद्र २३ को जेल(जी) आन्दोलनको मर्म र भावना अनुसार भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सुशासनका लागि प्रभावकारी कानुनी तथा संस्थागत सुधार गर्ने अठोट व्यक्त गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार सोमप्रसाद पाण्डे र समानुपातिकतर्फकी उम्मेदवार पार्वती वि.क. (सामना) लाई ’तारा’ चिन्हमा मतदान गरी विजयी गराउन अपील गरिएको यस घोषणापत्रले पाल्पाको समग्र रूपान्तरणका लागि स्पष्ट खाका अघि सारेको छ ।

विशेषगरी पर्यटन प्रवद्र्धन, सडक पूर्वाधारको स्तरोन्नति र कृषि क्षेत्रको आधुनिकिकरणलाई प्रमुख प्राथमिकता सहित नेपालको संविधान २०७२ को भावना अनुसार शिक्षा, स्वास्थ्य र निजामती सेवालाई जनमुखी बनाउन आवश्यक कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन ्।

साथै, संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तहलाई थप अधिकारसम्पन्न र प्रभावकारी बनाउनका लागि आवश्यक ऐन कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने विषयलाई नेकपाले आफ्नो कार्ययोजनामा समेटेका छन् ।

प्रतिबद्धता पत्रका मुख्य बुँदाहरू 
क) सामाजिक, आर्थिक रूपान्तरण
१. सिद्धबाबा–तानसेन–भैरवस्थान–ऋषिकेश–रानीमहल र राम्दीलाई जोडेर एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गरिनेछ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेछ ।
२. अंग्रेजसँगको लडाईमा विजयी हासिल गरेको गौरवपूर्ण इतिहास र वीरतासँग जोडेर पाल्पाका ऐतिहासिक गढी र किल्लाको एकीकृत विकास गुरुयोजना तयार गरिने छ।
३. पाल्पा दरबारदेखि रानीमहलसम्म डेडिकेटेड सडकसहित पर्यटनमैत्री पूर्वाधार निर्माण गरिनेछ ।
४. पाँच वर्ष भित्रमा पाल्पा क्षेत्र नं. २ मा आधारभूत विकास (शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत) लगायतका सेवाको पहुँच सुनिश्चित गरिनेछ।
५. प्रभासदेखि दमकडा क्षेत्रलाई आवासीय शैक्षिक हबका रुपमा विकास गरिनेछ।
६. पाल्पामा रहेका मगर र नेवारलगायत जाति विशेषको कला संस्कृति झल्किने खालका केन्द्रहरू स्थापना गरिनेछ।
ख) सडक पूर्वाधार
१. सिद्धबाबा सुरुङ मार्ग समयमै सम्पन्न गर्न र सिद्धार्थ लोकमार्गलाई स्तरउन्नति गर्नका लागि आवश्यक पहल गरिने छ।
२. प्रदेश गौरवको आयोजनाका रुपमा रहेको हार्थोक–बतासे–छहरा सडकलाई संघीय सरकारमार्फत स्रोतको व्यवस्थापन गरी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने छ।
३. कालीगण्डकी कोरिडोर अन्तरगत राम्दी–रानीघाट खण्डको निर्माण कार्य तदारुकताका साथ सम्पन्न गर्न विशेष पहल गरिने छ ।
४. यस निर्वाचन क्षेत्र अन्तर्गतका पालिका र वडास्तरीय सडकहरूको गुणस्तर सुधार गर्न सहजीकरण गरिने छ ।
ग) शिक्षा, स्वास्थ्य एवं खेलकुद
१. एक पालिका एक नमुना विद्यालयको अवधारणा अन्तर्गत प्रत्येक स्थानीय तहमा १÷१ आवासीय सुविधासहित स्मार्ट बिग स्कुलको स्थापना गर्न पहल गर्ने साथै सबै सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने।

२. पश्चिम नेपालकै शैक्षिक धरोहरको रुपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसलाई वर्तमान विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार पार्ने गरि शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने।
३. निर्वाचन क्षेत्र भित्र क्षेत्रीय स्तरको फुटबल र क्रिकेट स्टेडियम निर्माण साथै भलिबल लगायतका खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने।
४. पाल्पा अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार निर्माण गरी विशेषज्ञ सेवासहितको अस्पतालको रुपमा विकास गर्ने।
५. गाउँपालिकाका आधारभूत अस्पतालको संचालन र स्वास्थ्य चौकीहरूको स्तरोन्नति गर्ने साथै स्वास्थ्य बीमालाई सहजीकरण गर्ने।
६. मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा अत्याधुनिक उपचार सेवाहरूको विस्तारमार्फत स्वास्थ्य पर्यटनको विकास गर्ने वातावरण बनाउन सहजीकरण गर्ने।
घ) कृषि तथा सिंचाई
१. माडी, अर्गली, छेर्लुङ्ग, कचल, दर्पुक, सर्देवा, दोभान लगायतका फाँटमा उपलब्ध सिँचाइ आयोजनाहरूको मर्मत सम्भार गरी प्रभावकारी सिँचाइ प्रणालीको विकास तथा उन्नत विउ विजन र मलको प्रयोग गरी कृषिको उत्पादकत्व बढाउन सार्थक पहल गरिने छ।
२. सहज सिँचाइ सुविधा नभएका डाँडापाखामा लिफ्ट सिँचाइ तथा रिचार्ज पोखरीहरूको निर्माणमा जोड दिइने छ।
३. निर्वाचन क्षेत्रभित्रका सम्भावित स्थानहरूमा सुन्तला, कागती लगायतका अमिला जातका फलफूलको पकेट क्षेत्रको रुपमा विकास गरिनेछ साथै टिमुर, अम्रिसो, अकबरे खुर्सानी, अदुवा, बेसार, दालचिनी, ओखर लगायतको व्यावसायिक खेतीमार्फत स्वरोजगारीका अवसर सिर्जना गर्न पहल गरिने छ।
४. एक पालिका एक चिस्यान केन्द्रको अवधारणालाई मुर्त रुप दिई फलफूल, तरकारी तथा बीउविजन भण्डारण गर्ने कार्यलाई प्राथमिकता दिइने छ।

५. पालिकाहरूको पहलमा कृषि सहकारीमार्फत कृषि उपजहरूको उत्पादनमा वृद्धि र व्यवस्थित बजारीकरणको कार्यक्रम लागु गरी कृषकहरूलाई प्रोत्साहित गर्न पहल गरिने छ।
६. कालीगण्डकी करिडोरसँग जोडिएको खेतीयोग्य क्षेत्रहरूमा व्यवसायीक र बेमौसमी उत्पादनलाई स्वरोजगार सँग जोडिनेछ।
ङ) पर्यटन पूर्वाधार–रोजगारीको आधार 
पाल्पाको आर्थिक विकास र रोजगारीको प्रमुख स्रोत पर्यटन भएको हुनाले गुणस्तरीय पर्यटनको विकास र विस्तारमा निम्नानुसारको पहल गरिने छ ः
१. भैरवस्थान, रणउजिरेश्वरी, अमरनारायण, रुरुक्षेत्र, राम्दीघाट, नुवाकोटगढी, बल्ढेङ्गढी, जलेश्वर, शिवासन, दर्लमकाली, वगनासदेवी, रैनादेवी, कालिका थान आदिको संरक्षण र प्रवद्र्धन गर्ने।
२. पाल्पा दरबार र रानीमहललाई विकास समितिमार्फत राष्ट्रियस्तरको आकर्षक गन्तव्य बनाउने।
३. माडीमा माण्डव्य सरोवर र रुरुक्षेत्रमा हृषिकेश मोक्षधाम सरोवर निर्माण गर्ने।
४. तानसेन, नुवाकोट, वसन्तपुर, बतासे, छहरा र तिनगिरेलाई हिलस्टेशनको रुपमा प्रवद्र्धन गरी पर्यटकीय केन्द्र बनाउने।
५. तानसेन–नायर–राम्दी, भैरवस्थान–रिडि–सिडि लेक लगायतका क्षेत्रमा ट्रेकिङ रुट विकास गर्ने साथै जिपलाइन, स्काई साइक्लिङ र बन्जी जम्पको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने।
६. तानसेन, बौद्यागुम्बा, डाडाडुम, जन्तिलुङ्ग, मरामकोट लगायत क्षेत्रका होमस्टेको गुणस्तरमा अभिवृद्धि गर्ने साथै अन्य सम्भावित क्षेत्रहरूमा पनि गुणस्तरीय होमस्टेको विकास र विस्तार गरी पर्यटकलाई आकर्षित गर्ने वातावरण बनाउन स्थानीय जनतालाई प्रोत्साहन गर्ने।
७. रिब्दीकोटमा सेनकालीन दरबार, तानसेन श्रीनगरमा विशाल बौद्धमूर्ति तथा गुफाचौरमा विश्वकै अग्लो गणेश मूर्ति स्थापना गर्ने।

८. पाल्पामा एयरपोर्ट निर्माणका लागि सम्भाव्यता एवं प्राविधिक अध्ययन गर्नका लागि बजेटको व्यवस्था मिलाउन पहल गर्ने।
९. तानसेन शहरमा व्यवसायमैत्री नीतिनियम र सुरक्षाको प्रत्याभूति गरि चौविसै घण्टा चल्न सक्ने वातावरणको लागि पहल गर्ने।
च) स्वच्छ खानेपानी 
१. तानसेनको कालीगण्डकी तथा बगनासकाली लगायतका विद्युतीय लिफ्ट खानेपानी आयोजनाहरूलाई संघीय आयोजना अन्तर्गत संचालन गर्न पहल गरिने छ ।
२. विभिन्न पालिका तथा वडास्तरीय खानेपानी आयोजनाहरूलाई बजेटको सुनिश्चितताका लागि पहल गरिने छ।
३. खानेपानीको स्रोतको अभाव भएका स्थानहरूमा वैकल्पिक स्रोत अन्तर्गत वर्षाको पानी संकलन तथा प्रशोधन प्रणालीको विकास गर्न पहल गरिने छ।
छ) विद्युतीकरण 
१. प्रत्येक घरमा तथा व्यावसायिक प्रतिष्ठानहरूमा गुणस्तरीय र सुरक्षित विद्युत आपूर्तिका लागि रिडी र माडीको विद्युत सवस्टेशन निर्माण कार्यलाई सिघ्र सम्पन्न गर्न पहल गरिने छ।
२. पाल्पाका विभिन्न स्थानमा व्यावसायिक सौर्य तथा वायुउर्जाको विकास गर्न नीतिगत पहल गरिने छ ।
ज) खानी तथा लघु उद्योग 
१. पाल्पाका चिनारीका रुपमा रहेका करुवा, ढाका, घरबुना, कुलुप–ताला, ठेकी, बेतबाँस जन्य सामाग्री जस्ता लघु उद्यमलाई आधुनिकीकरण गर्ने र सहज बजारीकरणको व्यवस्था मार्फत युवा स्वरोजगारीलाई प्रोत्साहित गर्ने।
२. पाल्पाका चुनढुङ्गा, ढुङ्गा, गिट्टी, बालुवा, वनपैदावार आदिको योजनावद्ध उपयोग गर्ने, पर्यावरण जोगाउन र वातावरणीय प्रदुषण रोक्न आवश्यक कानुन निर्माणमा पहल गर्ने। उद्योगहरूबाट परेको वातावरणीय प्रभावको उचित क्षतिपूर्ति गरी सामाजिक उत्तरदायित्व सुनिश्चित गराइने।

३. तानसेनलाई स्टार्ट–अप, सफ्टवेयर विकास तथा डिजिटल सेवाको केन्द्रको रुपमा विकास गरी युवा स्वरोजगारीका अवसर सिर्जना गर्ने।
४. केवलकार तथा सिमेन्ट उद्योगहरूमा निजी क्षेत्रलाई आकर्षण गरी रोजगारीका अवसर सिर्जना गर्ने।
५. जातिगत एवं पेशागत लघु उद्यमको संरक्षण र सम्बद्र्धनमा जोड दिने।
भ) कला र संस्कृतिको संरक्षण ः
पाल्पाका आदिवासी जनजाति तथा विभिन्न समुदायका रैथाने भाषा, भेषभूषा, परम्परा, चाडपर्व, लोककला र सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक नीति निर्माण तथा बजेट विनियोजन गर्न विशेष पहल गर्ने।
ञ) वन्यजन्तु नियन्त्रण 
ग्रामीण क्षेत्रमा बढ्दै गएको वन जंगलका कारण बाँदर, बाघ, भालु, चितुवा, बँदेल, दुम्सी लगायतका वन्यजन्तुबाट हुने मानवीय तथा कृषिजन्य क्षति रोकथाम गर्न आवश्यक कानुन निर्माण र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने।
ट) जलवायु परिवर्तनको कारण परेको प्रतिकूल असरलाई नियन्त्रण गर्न आवश्यक नीति निर्माण गर्न पहल गर्ने ।

सम्बन्धित समाचार