Palpa Dainik
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026
×

 पाल्पा-नेकपा एमाले तानसेन नगरपालिका वडा नं. १० को वडा कमिटी बैठक विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ। बैठकले आगामी निर्वाचनलाई केन्द्रित गरी वडास्तरमा पार्टीका गतिविधिहरूलाई तीव्रता दिने र जनपरिचालन गर्ने निर्णय गरेको छ।

बैठकलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष धनेन्द्रराज घिमिरेले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्नुभयो। एमाले नेतृत्वको सरकारले विगतमा गरेका जनमुखी र गौरवका योजनाहरूका बारेमा जनतालाई स्पष्ट पार्न जरुरी रहेको उहाँको भनाइ थियो।

उपाध्यक्ष घिमिरेले भन्नुभयो, “हामीले गरेका ठूला विकास निर्माणका काम जनतामाझ प्रभावकारी रूपमा बुझाउन नसक्दा कतै कतै निरासा देखिएको हुन सक्छ। अब प्रत्येक घरधुरीमा पुगेर एमालेका एजेण्डा र विकासका कार्यहरू बुझाउनुपर्छ।” उहाँले अधुरा विकासका आयोजनाहरू पूरा गर्न आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बन्नु अनिवार्य रहेको जिकिर गर्नुभयो।

कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य गोपाल पौडेलले देश विकासको बाधक तत्वहरूले एमालेविरुद्ध नकारात्मक भ्रम फैलाइरहेको बताउनुभयो। ती भ्रमहरूलाई चिर्दै पार्टीलाई पहिलो शक्ति बनाउन कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

त्यस्तै, तानसेन वडा नं. १० का वडा अध्यक्ष हिमलाल पंगेनीले प्रतिकूल परिस्थितिका बाबजुद पनि आफ्नो वडामा एमालेको नेतृत्वले धेरै महत्वपूर्ण र उदाहरणीय कामहरू सम्पन्न गरेको दाबी गर्नुभयो।

सम्बन्धित समाचार