Palpa Dainik
बुधबार, भाद्र ३१, २०८३  |  September 16, 2026
×

पाल्पा – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बुटवल, पाल्पा रोड शाखाका कमल प्रसाद घिमिरे यस वर्ष पनि कम्पनीका हजारौं अभिकर्ताहरूलाई पछि पार्दै सर्वोत्कृष्ट अभिकर्ता बन्न सफल भएका छन्। उनले गत आर्थिक वर्षमा पनि उत्साहजनक व्यवसाय गरेका छन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्स, बुटवल पाल्पा रोड शाखाका प्रमुख खेम बहादुर घर्तीका अनुसार, वि.सं. २०७४ सालदेखि लगातार ‘नेपाल टपर’ बन्दै आएका घिमिरे नयाँ युवा पुस्ताका अभिकर्ताका लागि प्रेरणाको स्रोत बनेका छन्

आर्थिक वर्ष २०८१-८२ को असार मसान्तसम्ममा घिमिरेले आफ्नो व्यक्तिगत कोडबाट तीन करोड ८६ लाख ८६ हजार रुपैयाँको बीमा व्यवसाय गर्दै सबै अभिकर्तालाई उछिनेर ‘नेपाल टप एजेन्सी’ बनेका छन्। यस अवधिमा उनले ७२ वटा बीमा पोलिसी बिक्री गरेका छन्

२०७४ सालदेखि लगातार सर्वाधिक व्यवसाय गरी त्रिपट ह्याट्रिक गर्न सफल भएका घिमिरेले रेडियो मुक्तिनाथसँगको कुराकानीमा आफ्नो सफलताको रहस्य खुलाए। उनले भने, “जुनसुकै अभिकर्ताले पनि सबैले पत्याउने खालको व्यवहार गर्ने, सरल शैली अपनाउने, र कुनै तडकभडक नगरी बोली र व्यवहारमा समानता ल्याएर अघि बढेपछि अवश्य सफल भइन्छ।”

घिमिरेले बीमा सानो-ठूलो नभनी सबैलाई आवश्यक हुने कुरामा जोड दिँदै अभिकर्ताहरूलाई कुनै भेदभाव नगरी सबैलाई क्षमताअनुसारको जीवन बीमा गरी जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिएका छन्। सूर्यज्योति लाइफबाट उनले एमडीआरटी, सीओटी र टीओटी जस्ता अन्तर्राष्ट्रिय लक्ष्यहरू समेत हासिल गरिसकेका छन्। कुराभन्दा काममा विश्वास गर्ने कमल घिमिरे पाल्पाको रैनादेवी छहरामा जन्मेका हुन्।

यस वर्ष नेपालगंज शाखाका गौरव कुमार शाहीले द्वितीय स्थान हासिल गरे भने बनेपा शाखाका अभिकर्ता दीपक सापकोटाले तृतीय स्थान प्राप्त गरेका छन्।

सम्बन्धित समाचार