गुल्मी-कालीगण्डकी गाउँपालिकाले छोरीको उज्वल भविष्यका लागि एक उत्कृष्ट पहल सुरु गरेको छ। अब छोरी जन्मने बित्तिकै उनको नाममा बैंक खाता खोली १० हजार रुपैयाँ जम्मा गरिदिने व्यवस्था गाउँपालिकाले गरेको छ।
छोरीको भविष्यका लागि अक्षय कोषको व्यवस्था
गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाका अनुसार यो रकम अक्षय कोषका रूपमा राखिनेछ र छोरीको नागरिकता बनेपछि मात्रै निकाल्न मिल्ने व्यवस्था गरिएको छ। गत आर्थिक वर्षमा गाउँपालिकाभित्र ४२ जना छोरीको जन्म भएकोमा उनीहरूको कुमारी बैंकमा खाता खोलेर १० हजारका दरले कुल चार लाख बीस हजार रुपैयाँ जम्मा गरिएको उनले बताए।
छोरा र छोरीमा समानता ल्याउने प्रयास
गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले समाजमा अझै पनि छोरालाई बढी महत्त्व दिने र गर्भमा छोरी भएको थाहा पाएपछि गर्भपतन गराउने जस्ता विकृतिहरू रहेकाले त्यसको अन्त्यका लागि यो कार्यक्रम ल्याइएको बताए। छोरीको नागरिकता बन्ने अवधिसम्म यो रकम बढेर करिब ५० हजार रुपैयाँसम्म पुग्ने भएकाले छोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्नका लागि थप सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। यसका साथै छोरीहरू १६ वर्ष पुगेपछि कुनै कार्य योजना बनाउँदा पनि यसले केही राहत दिने थापाले दाबी गरे। यो कार्यक्रमले छोरीको सुनौलो भविष्य निर्माण गर्न र छोराछोरीबीचको असमानता अन्त्य गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले यस कार्यक्रमलाई थप व्यवस्थित गर्नका लागि कार्यविधि बनाएर लागू गरिएको बताए। गाउँपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न कानुनी वैधता आवश्यक पर्ने भएकाले कार्यविधि बनाइएको उनको भनाइ छ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कालीगण्डकी गाउँपालिकाले नमूनायोग्य कार्य गरेको भन्दै प्रशंसा गरे। छोरीहरूलाई समाजमा हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न र उनीहरूलाई अपहेलित हुनबाट रोक्न यस कार्यक्रमले केही हदसम्म भए पनि सहयोग पुग्ने उनको भनाइ छ। छोरा र छोरी समान हुन् भन्ने सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको र यो कार्यक्रमले केही राहत दिनेमा उनले जोड दिए।
गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले अघिल्लो आर्थिक वर्षमा १२० जना बच्चा जन्मिएकोमा ४५ जना छोरी र पछिल्लो आर्थिक वर्षमा ९३ जनामध्ये ४२ जना छोरी जन्मेको जानकारी दिइन्। छोरी जन्मँदा खातामा १० हजार रुपैयाँ जम्मा गरिदिने कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको उनले बताइन्। पहिले छोरी जन्मे पाँच हजार दिने कार्यक्रम ल्याएकोमा गाउँपालिकाले यसलाई थप व्यवस्थित गर्दै हाल १० हजार खातामा जम्मा गरिदिने र नागरिकता बनेपछि स्वयंले निकाल्न मिल्ने व्यवस्था गरेको हो।
सुत्केरी महिलाका लागि विशेष भेटघाट
यसैगरी, गाउँपालिकाले सुत्केरी महिला भेट्दा रैथाने भाले र घिउ लिएर भेट्न जाने गरेको छ। गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रममार्फत सम्भव भएसम्म रैथाने भाले र नभए घिउ लिएर उपाध्यक्ष भेट्न जाने गरेको स्वास्थ्य शाखाले जनाएको छ। यस कार्यक्रमलाई पनि गाउँपालिकाले निरन्तरता दिँदै आएको छ।






















