Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

रामपुर- रामपुर नगरपालिका वडा नं. ६, तिलकपुरका ११ वर्षीय पवन कुमाल करिब डेढ वर्षदेखि सडक छेउको रूख नजिकै बनाइएको फलामे खोरमा बस्न बाध्य छन्। शारीरिक र मानसिक रूपमा दुर्बल पवन बोल्न तथा हिँडडुल गर्न असमर्थ छन्। यद्यपि, उनी हातको संकेत मार्फत आफ्ना चाहना व्यक्त गर्छन्, मुस्कुराएर मान्छेहरूलाई बोलाउन खोज्छन्, तर आफ्नै उमेरका साथीहरू जस्तै विद्यालय जान वा खेलमा सहभागी हुन भने पाएका छैनन्।


बाध्यताको फलामे खोर

पवन करिब डेढ वर्षदेखि फलामे खोरमा थुनिनुको मुख्य कारण उनको मानसिक र शारीरिक दुर्बलताका साथै गरिबी हो। आर्थिक रूपमा विपन्न तथा आदिवासी सीमान्तकृत जातिमा पर्ने कुमाल समुदायमा जुम्ल्याहा छोराको रूपमा पवनको जन्म भएको थियो। सानै उमेरदेखि दुर्बल पवन ठूलो हुँदै जाँदा उनमा देखिएका शारीरिक र मानसिक दुर्बलताका कारण परिवारले उनलाई खोरमा राख्न बाध्य भएको हो।

उनकी आमा पुर्नामाया कुमाल आफ्नो बच्चा अरू बच्चा जस्तै खेल्न, विद्यालय जान र साथीभाइसँग रमाएको हेर्न चाहन्छिन्। तर परिवारको आर्थिक र सामाजिक अवस्थाका कारण त्यो सम्भव हुन सकेको छैन। “घरायसी काम गर्दा आँखाबाट ओझेल परे दुर्घटना हुने डरले उनलाई खोरभित्र राख्नुपरेको हो,” उनले पीडाका साथ बताइन्। “आफ्नो सन्तानलाई खोरमा राख्नु आफूहरूको इच्छा नभएर बाध्यता हो।”

सडक छेउको रूखसँग जोडिएको फलामे खोरमा उनलाई गम्भीर सुरक्षा चिन्ताबाट जोगाउन राखिएको हो। परिवार आफैँले यस्तो गर्ने इच्छा नभए तापनि बाध्यताका कारण यो निर्णय गर्नुपरेको आमाको भनाइ छ। पवन खोरबाट बाहिर निस्कन पाउँदा उनको अनुहारमा खुसी झल्किन्छ, तर फलाम र जस्तापाताले बनेको संरचनाले गर्मी, वर्षा, हावाहुरीका बेला डर सिर्जना गर्छ, जसले पवनको जीवन थप कष्टकर बनाएको छ।


पारिवारिक पृष्ठभूमि र उपचारको अवस्था

पवनका बाबु कृष्णबहादुर कुमाल विगत आठ वर्षदेखि वैदेशिक रोजगारीमा छन्, तर उनको कमाई खासै राम्रो छैन। आमाको एक्लो प्रयासका कारण परिवार छिमेकीको खेतबारीबाट जीविकोपार्जन गर्दै आएको छ। छिमेकीहरूका अनुसार उनीहरूको आफ्नै जग्गा जमिन छैन र आर्थिक अवस्था कमजोर छ।

पवन जन्मजात समस्याका कारण मुटु र खुट्टाको उपचार गरिए पनि मस्तिष्कको शल्यक्रिया गराउन आवश्यक आर्थिक स्रोत अभावले पूरा हुन सकेको छैन। उपचारका प्रयासहरू जारी छन्।

पुर्नामायाले करिब २०,००० रुपैयाँको लागतमा फलामे खोर निर्माण गरेकी हुन्। उनलाई थुन्नुको उद्देश्य घरायसी काम गर्दा वा मेलापात जाँदा पवन सडकतर्फ जाने, अलमलिँदै हिँड्ने र कहाँ पुग्छन् भन्ने मेसो नहुने भएकाले उनको सुरक्षालाई मध्यनजर गरी खोरमा राख्न बाध्य भएको उनले बताइन्। “घरायसी कामकाज केही गर्न पाइँदैन, छोरालाई मात्रै हेरेर भएन, अर्को बच्चा र परिवार चलाउन पनि पर्‍यो। सुरक्षाको लागि खोर बनाएँ,” पुर्नामायाले आफ्नो बाध्यता सुनाइन्। “पवनले बोल्न नआए पनि मुस्कान र हातको संकेतले अरूलाई बोलाउन खोज्ने दृश्य सबैका मुटु छुन्छ।” उनी खोरभित्र थुनिएका भए पनि जीवनका खुसीका उपाय खोजिरहेका हुन्छन्।

सम्बन्धित समाचार