Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा – पोखरा-बुटवल सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका-६ बर्तुङमा बटुक व्यवसाय फस्टाउँदै गएको छ। यस व्यवसायमा संलग्न स्थानीय व्यापारीहरू सन्तुष्ट छन् र यसलाई जीविकोपार्जनको भरपर्दो माध्यम बनाएका छन्।

७० वर्ष नाघेका मोटीराम चिदीले साढे तीन दशकदेखि निरन्तर रूपमा बटुक व्यवसाय गर्दै आएका छन्। प्रारम्भमा घरबाटै टोकरीमा बटुक बेच्दै हिँड्ने चिदी अहिले मासु पसल, फलफूल पसल, र होटेल व्यवसाय समेत सञ्चालन गर्दै आएका छन्। उनले आफ्ना दुई छोरालाई पनि यही पेशामा लगाउन सफल भएका छन्। “मेहनत गरे असम्भव केही हुँदैन,” चिदी भन्छन्, “परिवारका ११ जना सदस्य यही व्यवसायमा संलग्न छौं र राम्रै आम्दानी भइरहेको छ।”

बटुक व्यापारमा चिदीसँगै हाल ९-१० जना स्थानीय व्यापारीहरू संलग्न छन्। बस आउनासाथ व्यापारीहरू बटुक बेच्न दौडिन्छन्। मोटीराम चिदीका अनुसार प्रतिदिन हजारदेखि १५०० रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ। अर्का व्यापारी तिलक खड्का भन्छन्, “विदेश जानुपरेको छैन। थोरै-धेरै कमाएर परिवारसँग रमाउन पाइरहेका छौं।”

स्थानीय दुर्गा ज्ञवालीका अनुसार बटुक व्यवसाय राम्रोसँग सञ्चालन भइरहेको छ। “लगानी डुब्ला भन्नु नपर्ने, सबै मिलेर अगाडि बढ्न सकिन्छ,” उनले भने। तर, ज्ञवालीले सरसफाइलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। “केराउमा ढुङ्गा माटो हुने भएकाले नपिसाई सफा गरेर मात्र प्रयोग गर्नुपर्छ,” उनले सुझाव दिए।

बर्तुङमा बटुक व्यवसायको वृद्धि स्थानीय अर्थतन्त्रका लागि सकारात्मक संकेत हो। यदि स्थानीय सरकारको थप व्यवस्थापन र समर्थन रह्यो भने यो व्यवसायले अझ व्यापक रूप लिन सक्ने देखिन्छ।

तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा सिन्जालीले बटुक व्यवसायको प्रशंसा गर्दै भनिन्, “वैदेशिक रोजगारीमा नगई यही व्यवसायलाई निरन्तरता दिनु उदाहरणीय कार्य हो। सानो लगानीबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा यसले दिन्छ।” साथै, उनले व्यवसायको माग अनुसार स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सम्बन्धित समाचार