रिब्दीकोट – पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ स्थित प्रसिद्ध भैरव मन्दिरको व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन्। गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।
मठमन्दिर व्यवस्थापन ऐन २०८१ अनुसार गाउँपालिका अध्यक्षलाई शपथ ग्रहण गराउने अधिकार प्रदान गरिएको छ। सोही अनुसार, अध्यक्ष कार्कीले समितिका नव-निर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा शपथ गराएका हुन्।
नयाँ समिति गठन समितिको अध्यक्षमा दिलिप रायमाझी, उपाध्यक्षमा गम्भीर आले, सचिवमा वीरेन्द्र मिथुन, सहसचिवमा नरबहादुर आले, तथा कोषाध्यक्षमा धीरेन्द्र प्रधान चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा सीता थापा, कमला केसी, मनकुमारी गाहा, र बमबहादुर रायमाझी रहेका छन्।
रिब्दीकोट गाउँपालिकाले मठमन्दिर व्यवस्थापन ऐन २०८१ गाउँसभाबाट माघ १५ गते पारित गरेको थियो। माघ १६ गते गाउँपालिका अध्यक्ष कार्कीले प्रमाणित गरेपछि ऐन जारी भएको हो। यस ऐनअनुसार, मठमन्दिरहरूको उचित व्यवस्थापन, संरक्षण तथा विकास गर्ने उद्देश्य रहेको छ।
व्यवस्थापन समितिको गठन प्रक्रिया नेपाल सरकारको मठमन्दिर व्यवस्थापन समिति गठन प्रक्रियाभित्र रही कार्तिक १७ गते रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ ले सार्वजनिक सूचना जारी गरी भेला डाकेको थियो। उक्त सूचनाको आधारमा कार्तिक २७ गते भेला आयोजना गरी पदाधिकारी चयन गरिएको हो। सोही समितिलाई रिब्दीकोट गाउँपालिकाले मठमन्दिर व्यवस्थापन ऐन अनुसार पूर्ण मान्यता दिएको छ।
समितिको भावी योजना भैरव मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल भएकोले नयाँ व्यवस्थापन समितिबाट यसको संरक्षण, प्रवर्द्धन तथा व्यवस्थापनमा प्रभावकारी कदम चालिने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताए। उनले समितिलाई नमुना काम गर्दै सफल बन्न आग्रह गरे।
रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सोमकुमार कार्कीले पहिलाको समितिभन्दा उत्कृष्ट काम गर्नुपर्ने आवश्यकतामा जोड दिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले नयाँ पदाधिकारीहरूको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रम रिब्दीकोट गाउँपालिकाका सूचना अधिकारी रुकलाल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो भने वडा नम्बर ४ का वडाध्यक्ष सोमकुमार कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
























