पाल्पा – साउनको पहिलो सातासम्म पाल्पा जिल्लामा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। पर्याप्त वर्षा नभए पनि सिँचाइ सुविधा भएका र खोला किनारका ठूला फाँटहरूमा रोपाइँ सकिएको हो।
कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार, टारी खेतबाहेक अधिकांश स्थानमा रोपाइँ सम्पन्न भइसकेको छ। पाल्पाको अन्नभण्डार मानिने माडीफाँट, कचल, अर्गली, पीपलडाँडा, दोभान, झडेवालगायतका फाँटहरूमा रोपाइँ सकिएसँगै रोपाइँको क्षेत्रफल बढेको छ। यसैगरी, कालीगण्डकी बेसीअन्तर्गतका रामपुर, गेझा, निस्दी, हुँगी फाँटहरूको अधिकांश भूभागमा पनि रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख मानदेव प्रसाद चौधरीले बताए।
जिल्लामा कुल आठ हजार पाँच सय ४० हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ। पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा नपुगेका टारी खेतहरूमा भने अझै रोपाइँ हुन सकेको छैन। केही स्थानमा रोपाइँ सकिए पनि सिँचाइका लागि पर्याप्त पानी नपुग्दा किसानहरू मर्कामा परेका छन्। मकै लगायतका खेती स्याहार गर्न बाँकी रहेका र सिँचाइ सुविधा नभएका टारी खेतमा ढिलो गरी रोपाइँ हुने गरेको किसानहरूले बताएका छन्।
























