Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा – जिल्लाकै सबैभन्दा ठूलो सरकारी क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले ऐतिहासिक जित दर्ता गरेको छ। नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुबीचको प्रतिस्पर्धामा पहिलो पटक क्रान्तिकारी संगठनका उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन्।

अध्यक्ष पदमा बागलुङ निसीखोला ५ निवासी २४ वर्षीय मिलन घर्ती विजयी भएका छन्। उनले ३९० मत प्राप्त गर्दै नेपाली कांग्रेस निकट नेविसंघका कृष्ण अर्याल (३४२ मत), नेकपा एमाले निकट अनेरास्ववियुकी अनुजा अर्याल (२८७ मत) र नेकपा एस निकट स्वतन्त्र उम्मेदवार उमेश भण्डारी (१८५ मत) लाई पछि पारेका हुन्।

क्याम्पस स्ववियु निर्वाचनमा यसअघि नेविसंघ र अनेरास्ववियुको वर्चस्व रहेको थियो। तर, यस पटक क्रान्तिकारीले कुनै गठबन्धन बिना नै जित निकाल्न सफल भएको छ। उल्टै, नेविसंघले अखिल छैटौँसँग गठबन्धन गरेको थियो भने अनेरास्ववियु र अनेरास्ववियु समाजवादी एकल रूपमा चुनावी मैदानमा उत्रिएका थिए।

अन्य पदमा नेविसंघ

अध्यक्ष पदमा क्रान्तिकारीले जित निकाले पनि सचिव र कोषाध्यक्ष पदमा नेविसंघले जित दर्ता गरेको छ। सचिव पदमा नेविसंघका सुशील बस्यालले अनेरास्ववियुका दीपेश ज्ञवाली र अखिल क्रान्तिकारीका विपिन पंगेनीलाई फराकिलो मतान्तरले पराजित गरेका छन्।

त्यस्तै, कोषाध्यक्ष पदमा नेविसंघकी मिस्मा रानाले अनेरास्ववियुकी इन्दु गाहा र अखिल क्रान्तिकारीकी गंगादेवी बारगह्रेलाई हराएकी छन्। सदस्य पदमा पनि नेविसंघ र छैटौँको गठबन्धनमा रहेका उम्मेदवारहरू नै विजयी भएका छन्।

क्याम्पसको भविष्य सुधार्ने घर्तीको प्रतिबद्धता

विजयी भएका अध्यक्ष मिलन घर्ती एमबीएस प्रथम वर्षका विद्यार्थी हुन्। क्याम्पसमा रहेका विद्यार्थीहरूको समस्या समाधानमा निरन्तर सक्रिय रहेका कारण उनी विद्यार्थीहरू माझ लोकप्रिय रहेको स्थानीय पत्रकार कृष्ण दर्नाल बताउँछन्।

घर्तीले जितपछि आफ्नो पहिलो प्रतिक्रिया दिँदै भने, “यो कलेजमा अहिलेसम्म क्रान्तिकारी विद्यार्थी संगठनले जितेको इतिहास थिएन। विद्यार्थीहरूले विवेक प्रयोग गरेर नयाँ नेतृत्व चुन्नुभएको छ। अब मेरो प्राथमिकता क्याम्पस प्रशासनलाई दबाब दिई गुणस्तरीय शिक्षा प्रदान गराउने, रोजगारमूलक शिक्षाका कार्यक्रम ल्याउने र प्रशासनिक सहजता बनाउने हुनेछ।”

त्रिभुवन बहुमुखी क्याम्पस पश्चिम नेपालको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था भए पनि पछिल्लो समय यसको शैक्षिक स्तरमा केही गिरावट आएको बताइँदै आएको छ। घर्तीले क्याम्पसको गरिमा जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्याम्पसमा जम्मा १८९४ मतदाता रहेकामा १२२८ मत खसेको थियो। घर्तीको जितसँगै विद्यार्थी राजनीतिमा नयाँ समीकरण सिर्जना भएको स्थानीय विश्लेषकहरू बताउँछन्।

सम्बन्धित समाचार