पाल्पा-रैनादेवी छहरा गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तथा माध्यमिक विद्यालयका आइइएमआइएस फोकल शिक्षकहरूको क्षमता विकास गर्ने उद्देश्यका साथ दुई दिने आइसीटी तथाआइइएमआइएससम्बन्धी कार्यशाला आजदेखि सुरु भएको छ।
विद्यालयको शैक्षिक तथ्याङ्क व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सञ्चालित यस कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष भट्टराईले प्रविधिको युगमा विद्यालयका गतिविधि र विद्यार्थीको विवरणलाई डिजिटल प्रणालीमा आवद्ध गर्नु अनिवार्य रहेको बताउनुभयो।
दुई दिनसम्म चल्ने यस सघन कार्यशालामा गाउँपालिका भित्रका ५६ वटा विद्यालयकाआइइएमआइएस फोकल शिक्षकहरू र ३ वटा सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरूको सक्रिय सहभागिता रहेको छ। सहभागीहरूलाई विद्यालयको डिजिटल अभिलेखिकरण, अनलाइन तथ्याङ्क प्रविष्टि र सूचना प्रविधिको उच्चतम प्रयोगबारे प्रशिक्षित गराउने मुख्य लक्ष्य राखिएको छ।
आज सम्पन्न पहिलो दिनको कार्यक्रममा रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्ले र कालिका माध्यमिक विद्यालयका शिक्षक नरेन्द्र थापाले मुख्य सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँहरूले IEMIS सफ्टवेयरमा आइपर्ने प्राविधिक समस्या र समाधानका उपायहरूका बारेमा सहजीकरण गर्नुभएको थियो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवन रानाको स्वागत मन्तव्यबाट विधिवत रूपमा सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख तेजबहादुर कुमालले गर्नुभएको थियो।























