पाल्पा-नेकपा (माओवादी केन्द्र)का दुई वरिष्ठ नेताहरू पार्टी अधिवेशनलाई सम्बोधन गर्न पाल्पा आउँदै छन्। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ यही माघ २६ गते तानसेन नगर कमिटीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्न तानसेन आउँदै छन्।
उपाध्यक्ष नारायणकाजी आज साँझ पाल्पा आउने भएका छन् । त्यस्तै, पार्टीका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन माघ २७ गते रैनादेवी छहरा गाउँ कमिटीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्न छहरा आउने भएको नेकपा माओवादीका जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले बताए ।
उक्त अधिवेशनहरूलाई भव्य रूपमा सफल बनाउन आवश्यक तयारी तीव्र पारिएको छ। स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरू कार्यक्रमलाई उत्साहजनक बनाउन जुटेका छन्।
पार्टी नेताहरूको आगमनले पाल्पाको राजनीतिक वातावरणलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । पछिल्लो महिना पाल्पामा माओवादी केन्द्रको सक्रियता बढेको छ । प्रचण्ड नेतृत्वको सरकारका पालामा राम्रा काम गरेकाले अहिले माओवादी पार्टीमा प्रवेशको लहर नै चलेको छ । नेकपा माओवादी केन्द्रका दुवै अधिवेशनमा अन्य पार्टीका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गर्ने तयारी भएको आयोजकले जनाएको छ ।























