कुनै पनि राष्ट्रको समृद्धि, प्रगति र भविष्यको दिशा युवाहरूको सक्रिय सहभागिता, सोच, सीप र श्रममाथि निर्भर हुन्छ। “देश विकास गर्न युवा नै चाहिन्छ” भन्ने भनाइ अकाट्य सत्य हो, किनभने युवाहरूमा नवीन सोच, जोश, जाँगर र परिवर्तन ल्याउने सामर्थ्य हुन्छ। वर्तमान युग विज्ञान, प्रविधि र प्रतिस्पर्धाको युग हो, र यस्ता चुनौतीहरूसँग जुध्नका लागि देशलाई सिर्जनशील, कर्मशील र राष्ट्रप्रेमी युवाको आवश्यकता पर्छ।
शिक्षित र सीपयुक्त युवा जनशक्तिको उचित परिचालन गरेर देशले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि जस्ता क्षेत्रहरूमा उल्लेखनीय प्रगति गर्न सक्छ। उदाहरणका लागि, सूचना प्रविधिको क्षेत्रमा नेपाली युवाहरूले देश तथा विदेशमा प्रशंसनीय योगदान दिइरहेका छन्। तर, यसका लागि युवाहरूले आफ्नो कर्तव्य बिर्सनु हुँदैन। उनीहरू अनुशासन, इमान्दारिता, मेहनत र देशप्रतिको प्रेमले भरिनुपर्छ।
दुर्भाग्यवश, हाम्रो देशको वर्तमान अवस्था हेर्ने हो भने, युवाहरूलाई विदेश पलायन हुन बाध्य पारिएको देखिन्छ। युवाहरू यही माटोमा कर्म गर्न चाहन्छन्, तर सरकार र सम्बन्धित निकायको उचित ध्यान नपुग्दा उनीहरू खाडी तथा अन्य मुलुकमा श्रम बेच्न बाध्य छन्। यसले रेमिट्यान्स बढाए पनि देशको दीर्घकालीन विकासमा भने ठूलो बाधा पुर्याएको छ। के अब गाउँमा वृद्ध बाबुआमा मात्र बस्ने हो ?
यसरी युवा पलायन गराएर अरुको देशको विकास गर्नुको सट्टा आफ्नै देश विकास गर्न युवा परिचालन गर्दा हुँदैन र? विभिन्न प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरू यही देशमा छन्, उनीहरूलाई यहीँ परिचालन गर्नुपर्छ। जबसम्म युवा पलायन रोकिँदैन, तबसम्म देशको विकास असम्भव छ। यदि देशका युवाहरू सचेत, सशक्त र जिम्मेवार बने भने नेपालको विकास अवश्य सम्भव छ।
आजको शताब्दीमा असम्भव केही छैन। त्यसैले आफ्नो देशका युवालाई आफ्नै देशमा परिचालन गर्नुपर्छ। देशको विकास भाषणबाट होइन, कर्मबाट हुन्छ। कर्मशील युवा नै परिवर्तनका संवाहक हुन्।
देश विकास गर्न युवाको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। युवा नै परिवर्तनका मूल आधार हुन्। तसर्थ, उनीहरूलाई सही दिशा, अवसर र प्रेरणा दिन सकियो भने नेपाल जस्तो मुलुकले पनि समृद्ध राष्ट्रको सपना साकार गर्न सक्छ।























