Palpa Dainik
सोमबार, भाद्र २९, २०८३  |  September 14, 2026
×

भुवनपोखरी: पाल्पाको रैनादेवी छहरा ३, भुवनपोखरीमा सामुदायिक विद्युत सेवाको चरम लापरवाहीका कारण विगत चार दिनदेखि गाउँ अन्धकारमय बनेको छ। भुवनपोखरीका छचुवा, अर्सेउदी, ढुकुरखोला दमार, पलासपाटा, चिसापानी लगायतका टोलहरूमा विद्युत सेवा अनियमित हुँदा स्थानीयको जनजीवन नराम्ररी प्रभावित भएको छ। पटक-पटक सम्बन्धित निकायमा गुनासो गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ।

स्थानीय लक्ष्मण भट्टराईका अनुसार विद्युत आपूर्ति अनियमित हुँदा दैनिक जनजीवन कष्टकर बनेको छ। स्थानीयहरूले सामुदायिक विद्युत प्रणाली हटाएर चाँडै केन्द्रीय विद्युत प्रवाहमा जोडिन माग गरे पनि सामुदायिक विद्युत उपभोक्ता समिति मौन बसेको र ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

स्थानीय गोपाल भट्टराईले समिति समक्ष पटक-पटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएको र मर्मतसम्भारमा ढिलाइ हुँदै आएको बताए। भुवनपोखरीमा सामुदायिक विद्युत सञ्चालन भएका ठाउँमा विद्युत सेवा अनियमित हुने र समयमै मर्मत नहुने समस्या रहेको उपभोक्ताहरू बताउँछन्।

यस विषयमा वडा अध्यक्ष प्रदीप पौडेलले रेडियो मुक्तिनाथसँगको टेलिफोन कुराकानीमा सामुदायिक विद्युतीकरणमा विकृति मौलाएको र सामुदायिक विद्युत संस्थाहरूले गुणस्तरीय विद्युत सेवा प्रत्याभूत गर्न नसकेको बताएका छन्। उनले यो समस्या समाधान गर्न स्थानीय सरकारले अब सामुदायिक विद्युतीकरण भएका स्थानमा विद्युत प्राधिकरणलाई नै सबै अधिकार दिने तयारी गरेको जानकारी दिए। साथै, उपभोक्ता समितिको ढिलासुस्ती र लापरवाहीले नै यो काम अगाडि बढाउन समस्या भएको उनको भनाइ छ।

सामुदायिक विद्युत उपभोक्ता समितिका अध्यक्ष लाल बहादुर दर्लामीलाई यस विषयमा जानकारी लिन पटक-पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन। दुई वर्षअघि वडाको पहलमा २ पटकसम्म आम भेला गरेर समितिबाट हिसाबकिताब मागिएको थियो, तर संस्थाका अध्यक्षले तुरुन्तै समाधान गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म समस्या उस्तै रहेको छ।

स्थानीय वडा सरकारले पटक-पटक ताकेता गर्दा समेत समस्या समाधान नभएको र समितिमा को-को सदस्य छन् भन्ने जानकारी समेत नभएको स्थानीयहरू बताउँछन्। एक स्थानीयका अनुसार, भुवनपोखरीको सामुदायिक विद्युत संस्थाले विभिन्न संस्थाको नाममा २१ लाख रुपैयाँ ऋण नतिरेका कारण २ वर्षअघि दुई तिहाइ समर्थनमा पाल्पा विद्युत प्राधिकरणको सिफारिसमा केन्द्रसम्म फाइल पठाउँदा पनि प्राधिकरणले फाइल लिन मानेको थिएन।

भुवनपोखरीमा सामुदायिक विद्युतीकरण भएका स्थानका क्षेत्रमा भोल्टेजको समस्या धेरै भएको, जसका कारण खानेपानीमा समेत असर परेको, मर्मत सम्भार बेलैमा नभएको र संस्थाहरूमा विकृति मौलाएको तथा आर्थिक गतिविधिमा समेत प्रश्न उठ्ने गरेको उपभोक्ताहरूले बारम्बार गुनासो गरेका छन्। यस विषयमा स्थानीय सरकार र सरोकारवाला निकाय भने मौन बसेको उपभोक्ताहरूको आरोप छ।

सम्बन्धित समाचार