पाल्पा । पश्चिम नेपालको जेठो शैक्षिक संस्था त्रिभुवन बहुमुखी क्याम्पसमा अब प्राविधिक विषयको पनि पढाइ हुने भएको छ।
यो शैक्षिक सत्रदेखि क्याम्पसले विज्ञान स्नातक कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (BSc CSIT) कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले बताए।
त्रिभुवन विश्वविद्यालयबाट यस कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्राप्त भइसकेको बताए। हाल कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि यो खुसीको खबर हो। सूचना प्रविधि विषयमा रुचि राख्ने विद्यार्थीहरूले अब नजिकैको क्याम्पसमै उच्च शिक्षा हासिल गर्ने अवसर पाउनेछन्।
त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित यो कार्यक्रम चार वर्ष (आठ सेमेस्टर) अवधिको स्नातक तहको कार्यक्रम हो। पछिल्लो समय यस विषयको अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएको छ। BSc CSIT पढ्नका लागि पाल्पा र आसपासका जिल्लाका विद्यार्थीहरू अन्यत्र जानुपर्ने बाध्यता अब हट्ने भएको छ।























