Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

पाल्पा-पाल्पाको रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक जलेश्वरधाममा सञ्चालन भइरहेको शिव पुराण महायज्ञमा दाताहरूबाट सहयोग जुट्न थालेको छ ।

धार्मिक तथा सामाजिक उद्देश्यका साथ सुरु गरिएको यस महायज्ञको तेस्रो दिन मात्रै झण्डै चार लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको आयोजक समितिले जनाएको छ। माघ २२ गतेदेखि सुरु भएको यो महायज्ञ फागुन ३ गतेसम्म चल्नेछ।

महायज्ञमा ठूलो रकम दान गर्ने दाताहरूको संख्या पनि उल्लेख्य रहेको छ। रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले महायज्ञका लागि एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ भने रिब्दीकोट–७ का शिव नेपाल र राम कुमार रणपालले पनि एक लाख रुपैयाँ प्रदान गर्नुभएको छ। यस्तै, रिब्दीकोट–३ का शुकदेव खनाल, ७ का चोप बहादुर कुँवर र रैनादेवी छहरा–४ का यम बहादुर रायमाझीले ५१५१ हजार रुपैयाँ सहयोग गरी धार्मिक पुण्य आर्जन गर्नुभएको छ। नगदका अतिरिक्त राम कुमार रणपाल र यम बहादुर रायमाझीले एक–एक बोरा चामल समेत दान गर्नुभएको प्रचारप्रसार समितिका संयोजक शिव कुँवरले बताउनुभयो ।

सांस्कृतिक र सामाजिक उत्थानका लागि आयोजना गरिएको यस महायज्ञमा दैनिक रूपमा भक्तजनहरूको बाक्लो उपस्थिति रहने गरेको छ। आगामी दिनहरूमा सहभागी र सहयोगको क्रम अझै बढ्ने आर्थिक समितिका संयोजक प्रमुख कुँवरले बताउनुभयो ।

सम्बन्धित समाचार