पाल्पा- ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले ८९औं महाशिवरात्रिको अवसरमा पाल्पा र गुल्मीका विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ। विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गरी शिविर, झाँकी र्याली, स्टल सञ्चालन तथा झण्डोत्तोलन जस्ता कार्यक्रम गर्ने जानकारी गराएको हो।
महाशिवरात्रि भगवान शिवको जन्मोत्सवको रूपमा मनाइने महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै विश्वविद्यालयका भानु पौडेलले समाजमा व्याप्त विकृतिलाई निरुत्साहित गर्न ध्यान र योगमा केन्द्रित भएर शिवरात्रि मनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले शिवरात्रिको आध्यात्मिक महत्त्वलाई जोड दिँदै मानव समुदायले नराम्रा पक्ष परित्याग गरी सकारात्मक जीवनशैली अवलम्बन गर्नुपर्ने बताए। शिवरात्रिको अवसरमा समाज सुधारका गतिविधिहरू सञ्चालन गर्न विश्वविद्यालयले विभिन्न कार्यक्रम आयोजना गर्ने जनाइएको छ।
























