Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

मानव जातिको इतिहासमा, समानता र स्वतन्त्रता सबैभन्दा उच्च मूल्यका रूपमा स्थापित भएका छन्। तर, मेरो जीवनमा, यी मूल्यहरू केवल सपनाजस्तै बने। मैले थुप्रै पटक फरक-फरक शैलीका विभेदहरूको सामना गरेँ। ती विभेदका छर्राहरूले मेरो आत्मसम्मानलाई बारम्बार हानिरहे, र ती छर्राहरू हान्नेहरूको जमात भने ठूलो नै थियो। ती जमातका विभेदकारी गतिविधिले मेरो शरीरबाट रगत बगाएन, मेरो हात खुट्टा भाँचिएन, मेरी आँखा फुटेन। तर, मलाई संसारमा मानव भएर बाँच्न पाउने मेरो नैसर्गिक अधिकारबाट वञ्चित गरियो। यस्तो लाग्थ्यो, म केवल एक जिउँदो शरीर थिएँ, जसलाई कुनै महत्त्व दिइँदैन।

जीवनमा धेरै पटक, मैले आफूलाई मानव नै नभएको महसुस गरेकी छु। विभेद गर्ने तपाईहरूलाई के थाहा, म पटक-पटक मरेको मान्छे हुँ। विभेदका काँडाहरूले मेरो आत्मालाई घाइते पारे, र ती काँडाहरू हटाउन, मैले धेरै पटक कराएँ, रोएँ, चिच्याएँ। तर मेरो आवाज तपाईहरूका लागि केवल हाँसो र थप उर्जाको स्रोत बन्यो। आज म महसुस गर्छु कि तपाईहरूले समयसँगै विभेद गर्ने तरिकामा निपुणता हासिल गर्नुभएको छ। हिजो तपाईहरू देखिने गरी विभेद गर्नुहुन्थ्यो, तर आज तपाईहरूको विभेद इसाराले मात्र व्यक्त हुन्छ। मेरो समुदायका सदस्यहरूले कहिल्यै कल्पना पनि गरेनन् कि तपाईहरू यति चालाक र योजनाबद्ध भइसकेको हुनुहुन्छ। तर, के साँच्चै यो चालाकीले तपाईहरूको मनलाई सन्तोष दिन्छ ? के मानव भएर अर्को मानवलाई विभेद गर्नु नै तपाईहरूको अस्तित्वको सार हो? म पनि मानव हुँ। म त्यही मानव हुँ, जुन तपाईहरू हो। हामीबीच फरक के छ? संसारको सर्वश्रेष्ठ प्राणी मानव हो, र त्यो मानवताको म पनि एक हिस्सा हुँ। त्यसैले, मेरो आग्रह छ, आफ्नै चेतना जागृत गरौं। मानव भएर दानवजस्तो व्यवहार नगर्नुस्। विभेद गर्नु भनेको केवल अरूलाई मात्र होइन, आफैँलाई पनि कमजोर बनाउनु हो। विभेदले अरूलाई चोट पुर्याउँछ, तर यो चोट अन्ततः समाजलाई नै कमजोर बनाउँछ।

म सबै विभेद गर्ने विज्ञहरूलाई आग्रह गर्छु—आफ्नो मनमा रहेका विभेदका परतहरू हटाउनुस्। सोच्नुहोस्, हामीले सबैलाई समान अधिकार र सम्मान दिने समाज निर्माण गर्न सक्छौं। यदि हामी फरक हुनु स्वाभाविक हो भन्ने कुरा स्वीकार गर्छौं भने, तब मात्र हामी साँचो मानवताको परिभाषा पूरा गर्न सक्छौं। आउनुस्, हामी सबैले विभेदको सट्टा समानताको मूल्यमान्यता अंगालेर अघि बढौं। नेपालको संविधान र जातीय विभेद अन्त्य नेपालको संविधानले जातीय छुवाछूत र विभेद अन्त्य गर्न विशेष संवैधानिक व्यवस्था गरेको छ।

• नेपालको संविधान, २०७२ को धारा २४: प्रत्येक व्यक्तिलाई छुवाछूत तथा जातीय विभेदबाट मुक्त हुने अधिकार सुनिश्चित गरिएको छ।

• धारा १८: समानताको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई जात, धर्म, लिंग, भाषा, वा सांस्कृतिक आधारमा भेदभाव गर्न नपाइने प्रावधान राखिएको छ। 

• भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८: यो कानुनले जातीय भेदभावलाई दण्डनीय अपराध ठहर गरी दण्ड तथा क्षतिपूर्ति माग गर्न सक्ने अधिकार प्रदान गरेको छ। अन्तर्राष्ट्रिय कानुनको दृष्टिकोण अन्तर्राष्ट्रिय स्तरमा पनि जातीय विभेद र छुवाछूत अन्त्यका लागि धेरै कानुनी व्यवस्था र संझौताहरू लागू गरिएका छन्। 

• अन्तर्राष्ट्रिय मानवअधिकार घोषणापत्र (Universal Declaration of Human Rights, 1948): यो घोषणाले प्रत्येक व्यक्तिलाई समानताको अधिकार र विभेदरहित जीवन जिउन पाउने अधिकार दिएको छ।

• जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ICERD, 1965): यो महासन्धिले जातीय भेदभावलाई अन्त्य गर्न सदस्य राष्ट्रहरूलाई बाध्य बनाएको छ। 

• एसडीजी (Sustainable Development Goals, 2030): यसले पनि समानता र विभेद अन्त्यलाई दिगो विकासको प्रमुख आधार बनाएको छ। 

नेपालले यी अन्तर्राष्ट्रिय कानुन र सन्धिहरूलाई अनुमोदन गरी आफ्ना कानुनहरूमा समाहित गरेको छ। तर, कानुनले मात्र विभेद अन्त्य गर्न सक्दैन, यसका लागि हाम्रो सोच र व्यवहारमा परिवर्तन हुन आवश्यक छ। जातीय विभेद र छुवाछूत जस्ता समस्याहरू केवल व्यक्तिगत पीडामात्र होइनन्, यी समस्याहरूले समाजको विकासलाई नै रोक्छन्। नेपालको संविधान र अन्तर्राष्ट्रिय कानुनले विभेद अन्त्यका लागि स्पष्ट कानुनी व्यवस्था गरेको भए पनि, समस्या कानुन कार्यान्वयन र सामाजिक सोचमा रहेको छ। विभेद अन्त्य गर्न हामी सबैले आफ्नो चेतना परिवर्तन गर्नुपर्छ। कानुन मात्र पर्याप्त हुँदैन, जबसम्म हामीले हृदयबाट मानवता र समानतालाई आत्मसात् गर्दैनौं। यसर्थ, समय आएको छ कि हामी सबैले मिलेर समानताको समाज निर्माण गरौं, जहाँ कुनै पनि व्यक्ति आफ्नो अस्तित्वप्रति गर्व महसुस गर्न सकून्।

सम्बन्धित समाचार